चितवनको मेघौलीमा रहेको राधाकृष्ण सामुदायिक वन : बाघ र गैँडा अवलोकनका लागि पर्यटकको आकर्षण केन्द्र

सन्तकुमार चौधरी-

चितवन, १४ साउन ।  चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने मेघौलीस्थित राधाकृष्ण सामुदायिक वन पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको महत्वपूर्ण गन्तव्य बन्दै गएको छ। दुर्लभ वन्यजन्तु पाटेबाघ, एकसिङ्गे गैँडा तथा विभिन्न प्रजातिका चराचुरुङ्गी सहजै अवलोकन गर्न सकिने भएकाले यहाँ पर्यटकको चहलपहल बढ्न थालेको हो।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस वन क्षेत्रमा बिहान र साँझको समयमा जङ्गली जनावरको गतिविधि अवलोकन गर्न सकिन्छ। पर्यटकहरू जंगल सफारी, प्रकृति अवलोकन तथा चराचुरुङ्गी हेर्नका लागि यहाँ पुग्ने गरेका छन्। वनभित्रको शान्त वातावरण, हरियाली वनस्पति र राप्ती नदीको मनोरम दृश्यले पर्यटकलाई विशेष आकर्षित गर्ने गरेको स्थानीय बताउँछन्।

राधाकृष्ण सामुदायिक वनका सचिव बेदकुमार महतोका अनुसार यो क्षेत्र विशेष गरी पाटेबाघ र एकसिङ्गे गैँडाको महत्वपूर्ण बासस्थानका रूपमा परिचित छ। “दुर्लभ वन्यजन्तुको प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले पर्यटकहरू यहाँ आउन रुचाउँछन्,” उनले भने, “वन्यजन्तुसँगै विभिन्न प्रजातिका चराचुरुङ्गी र प्राकृतिक दृश्यले पनि पर्यटकलाई लोभ्याउने गरेको छ।”

मेघौली घटगाई नेचर गाइड एशोसिएसनका अध्यक्ष मनिस लिम्बूका अनुसार यस क्षेत्रमा हाल पाँचवटा पाटेबाघ र २१ वटा एकसिङ्गे गैँडा नियमित रूपमा बसोबास गरिरहेका छन्। बाघका आहारा प्रजातिका जनावरहरू, जस्तै चित्तल, जरायो, बँदेल लगायतका वन्यजन्तु पनि पर्याप्त मात्रामा पाइने भएकाले बाघको उपस्थिति स्थायी रहेको उनको भनाइ छ।

 

“पर्यटकहरूलाई बाघ र गैँडा देखिने सम्भावना उच्च भएकाले यो क्षेत्र सफारीका लागि निकै लोकप्रिय बन्दै गएको छ,” लिम्बूले भने। उनका अनुसार चराप्रेमीका लागि पनि यो क्षेत्र महत्वपूर्ण गन्तव्य हो। यहाँ विभिन्न प्रजातिका स्थानीय तथा बसाइँसराइ गर्ने चराहरू देख्न सकिन्छ।

एक सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको राधाकृष्ण सामुदायिक वनभित्र भएर राप्ती नदी बग्ने गर्दछ। नदीको सतत् जलस्रोत, घाँसे मैदानको व्यवस्थापन, वन संरक्षणका गतिविधि तथा स्थानीय समुदायको सक्रिय सहभागिताले वन्यजन्तुको लागि अनुकूल वातावरण निर्माण भएको छ। यही कारणले गैँडा, बाघ तथा अन्य वन्यजन्तुले यस क्षेत्रलाई सुरक्षित बासस्थानका रूपमा रोजेका छन्।

स्थानीय समुदायले सामुदायिक वनको संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धनमा समेत जोड दिँदै आएका छन्। वन्यजन्तु संरक्षण र पर्यटन विकासलाई सँगसँगै अघि बढाउन सके स्थानीय बासिन्दाको आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्ज विश्वमै जैविक विविधताका लागि परिचित क्षेत्र हो। निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनहरूले वन्यजन्तुको सुरक्षित आवतजावत र बासस्थान संरक्षणमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। तीमध्ये राधाकृष्ण सामुदायिक वन अहिले वन्यजन्तु अवलोकन तथा प्रकृतिसँग रमाउन चाहने पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

—-00—-

 

 

 

Share:

सम्बन्धित समाचारहरु