११ बुँदे घोषणापत्र जारी गर्दै फोनिजको बैठक सकियो, पत्रकार महासंघ विरुद्ध देशव्यापी आन्दोलनको घोषणा

कास्की — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को संघीय समितिको तेस्रो पूर्ण बैठक २०८२ पुस ४ र ५ गते कास्की जिल्लाको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा सम्पन्न भएको छ। लक्की चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले ११ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ विरुद्ध चरणबद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ।

बैठकले नेपाल पत्रकार महासङ्घको महाधिवेशनले दिएको म्यान्डेट अनुसार संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठसम्बन्धी विषयमा उच्चस्तरीय अध्ययन समिति गठन नगरेको तथा संस्थापक घोषणा नगरेकोप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले तत्काल अध्ययन टोली गठन गरी समस्या समाधान नगरे फोनिज चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

घोषणापत्रमा भदौ २३ र २४ गते जेन–जी युवा आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चार माध्यममाथि भएका आक्रमणप्रति दुःख व्यक्त गर्दै स्वतन्त्र प्रेसमाथि हुने यस्ता घटनाको अन्त्य गर्न माग गरिएको छ। साथै २०८२ मंसिर १९ गते रिपोर्टिङका क्रममा तेह्रथुमको म्याङलुङ–८ मा फोनिज जिल्ला अध्यक्ष बबीता राईमाथि भएको आक्रमणको भत्र्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिएको छ।

बैठकले श्रमजीवी पत्रकारका लागि तोकिएको न्यूनतम पारिश्रमिक सबै सञ्चार संस्थामा लागू गर्न, स्वरोजगारमूलक मिडियाको संरक्षण तथा प्रवर्धन गर्न सरकारसँग माग गरेको छ। मातृभाषामा प्रकाशित तथा प्रसारित सञ्चार माध्यमको अवस्था दयनीय रहेकाले त्यसको क्षमता अभिवृद्धि र आर्थिक प्रवर्धनका लागि विशेष कार्यक्रम ल्याउन पनि सरकारसँग आग्रह गरिएको छ।

प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरण मूल्याङ्कनमा आदिवासी जनजाति समुदायले सञ्चालन गरेका सञ्चार माध्यममाथि विभेद भएको भन्दै तत्काल संशोधन गर्न माग गरिएको छ। साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रदान गरिने अनुदानमा फोनिजलाई सम्मानजनक व्यवहार गर्न बैठकले जोड दिएको छ।

बैठकले संविधान २०७२ ले सुनिश्चित गरेको संघीयता, पूर्ण समावेशीता, समानुपातिक व्यवस्था, स्वायत्तता, विशेष तथा संरक्षित क्षेत्रको कार्यान्वयनका लागि कानुन बनाई लागू गर्न माग गरेको छ। प्रदेश १ मा जारी पहिचान आन्दोलन तथा मुकुमलुङ र खुवालुङसम्बन्धी विषय वार्ता र संवादबाट समाधान गर्न सरकारसँग आग्रह गरिएको छ।

यसबाहेक बैठकले फोनिजकर्मीका लागि राष्ट्रिय कार्यशाला, जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला, मातृभाषा पत्रकारितासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, पत्रकार क्षमता अभिवृद्धि तथा फेलोसिप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको महासचिव समीर बलामीले जानकारी दिए।

हाल फोनिजका देश तथा विदेशमा गरी ९७ वटा शाखा समिति रहेका छन् भने ४ हजार ५ सय ६४ जना पत्रकार फोनिजमा आवद्ध रहेका छन्। बैठक सफल बनाउन सहयोग गर्ने गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका तथा सम्बन्धित सबै निकायप्रति फोनिजले धन्यवाद ज्ञापन गरेको छ।

Share:

सम्बन्धित समाचारहरु