चितवन । रत्ननगर नगरपालिका–५ मा अवस्थित जनकौली मध्यवर्ती सामुदायिक वनमा पर्यटन प्रवर्द्धनका लागि जीप सफारी सेवा सञ्चालनमा आएको छ। बुधबार वन कार्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा बागमती प्रदेशका पूर्वअर्थमन्त्री जगन्नाथ थपलियाले जीप सफारीको उद्घाटन गरे।

उद्घाटनकै दिन बागमती प्रदेशका कृषिमन्त्री मधुसुधन पौडेलले पनि जीप सफारीमार्फत वन क्षेत्रको अवलोकन गरेका थिए। कार्यक्रममा बागमतीका पूर्व वनमन्त्री कृष्णप्रसाद सिलवाल, रत्ननगर नगरपालिकाका उपप्रमुख यादव प्रसाद पाठक, चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वनका अध्यक्ष जोगेन्द्र महतोले सौराहाको छेउमै रहेको जनकौली सामुदायिक वनमा स्थापना भएको २२ वर्षपछि जिप सफारी सुरु गरिएको जानकारी दिए।
पर्यापर्यटनमार्फत स्थानीय समुदायको जीवनस्तर उकास्ने उद्देश्य रहेको उनले बताए। उनका अनुसार सफारीका लागि व्यवस्थित रुट तयार गरिएको छ, जसअन्तर्गत करिब साढे चार किलोमिटर दूरीमा डेढदेखि दुई घण्टासम्मको यात्रा हुनेछ। सुरुमा दैनिक १४ वटा— बिहान र बेलुकामा ७/७ वटा— जिप सञ्चालन गरिनेछ।

१०६ हेक्टर क्षेत्रफलमा फैलिएको जनकौली सामुदायिक वन २०६० सालमा स्थापना भएको हो। हाल यसमा करिब दुई हजार उपभोक्ताहरू आबद्ध छन्। वन सचिव नारायण चौधरीका अनुसार पर्यटन प्रवर्द्धनकै उद्देश्यले २०६६ सालदेखि डुङ्गा सेवा सञ्चालन गरिएको थियो।
जिप सफारीमार्फत पर्यटकहरूले एकसिँगे गैँडा, बाघ, चितुवा, जङ्गली हात्ती, भालु, चित्तल, जरायोजस्ता दुर्लभ वन्यजन्तु अवलोकन गर्न सक्नेछन्।
प्रमुख अतिथि थपलियाले वन क्षेत्रको सुरक्षा र जैविक सन्तुलनलाई ध्यानमा राख्दै सफारीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न सुझाव दिए। साथै उनले सौराहालाई बाढीको जोखिमबाट जोगाउन लोथरदेखि सौराहासम्म ड्याक निर्माणको काम सुरु भइसकेको जानकारी पनि दिए। उनले आफू अर्थमन्त्री हुँदा जीर्ण भइसकेको पुरानो ड्याक पुनर्निर्माणका लागि १८ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख गरे।

कार्यक्रममा वडाध्यक्ष सजना महतो, विभिन्न दलका नगर अध्यक्षहरू, समाजिक अभियन्ताहरू तथा पूर्वउपभोक्ता समिति अध्यक्षहरू लगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको अध्यक्षता वन अध्यक्ष जोगेन्द्र महतोले गरेका थिए भने उपाध्यक्ष रुदल महतोले स्वागत मन्तव्य र सचिव नारायण चौधरीले सञ्चालन गरेका थिए।


