चितवन । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार पर्व भव्य रूपमा मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तन हुने दिनलाई तमु ल्होसार भनिन्छ । गुरुङ समुदायले यस पर्वलाई आफ्नो नयाँ वर्षका रूपमा विशेष महत्त्वका साथ मनाउने परम्परा छ ।
तमु ल्होसार सूर्यको किरणसँग सम्बन्धित पर्व मानिन्छ । गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप चाँडै पर्ने भएकाले पुस महिनामा यो पर्व मनाइने विश्वास रहिआएको छ । यसपछि क्रमशः तामाङ र शेर्पा समुदायको बसोबास रहेका क्षेत्रमा सूर्यको ताप ढिलो पुग्ने भएकाले माघ र फागुन महिनामा ल्होसार मनाइने गरिन्छ ।
पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि दिन क्रमशः लामो तथा रात छोटिँदै जाने भएकाले पनि तमु ल्होसारको विशेष धार्मिक र सांस्कृतिक महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
यस अवसरमा काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका छन् । कार्यक्रममा गुरुङ समुदायका मानिसहरू परम्परागत तथा सांस्कृतिक वेषभूषामा सजिएर सहभागी भएका छन् । साथै गुरुङ समुदायका मौलिक परिकारहरूको प्रदर्शनी समेत गरिएको छ ।
तमु ल्होसारको अवसर पारेर आइतबारदेखि राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव सुरु भएको छ । महोत्सवमा हजारौँ सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको छ ।–00–


