काठमाडौं,२२ साउन । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतप्रति आपत्ति जनाएका छन्।
भट्टराईले बिहीबार साउन २२ गते लुम्बिनी प्रदेशस्तरीय दुईदिने विस्तारित बैठकमा भाग लिन जानुअघि भैरहवास्थित कारागार पुगेर लामिछानेसँग भेट गरेका हुन्।
भेटपश्चात् भट्टराईले लामिछानेलाई न्यायिक हिरासतमा राख्नु अन्याय भएको टिप्पणी गरेका छन्। “उहाँमाथि फैसला भइसकेको छैन, अहिले उहाँ न्यायिक हिरासतमा हुनुहुन्छ। उहाँजस्तो व्यक्तिलाई अदालतले नै व्याख्या गरिसकेको हुँदा म धेरै टिप्पणी गर्न चाहन्नँ,” उनले भने, “तैपनि, कोही मान्छे भाग्छ, थप अपराध गर्छ भन्ने आधारमा मात्रै हिरासतमा राखिनु हुन्छ। तर, जनताको प्रतिनिधि भागेर सुख पाउँदैन भन्ने कुरा अनुमान गरेरै पनि जमानतमा मुद्दा फेस गर्ने व्यवस्था मिलाउन सकिन्थ्यो।”
उनले थपे, “यसरी थुनामा राख्नुभन्दा पद नै खारेज गरेर नयाँ निर्वाचन गराउने प्रस्ताव म पहिले नै गरिसकेको छु।” भट्टराईले कारागारमा लामिछानेलाई पत्रपत्रिकाबाट समेत वञ्चित गरिएको जानकारी पाएको भन्दै असन्तोष व्यक्त गरे।–00–


