चितवन,२९ मंसिर ।
नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय गरेका दुई हात्तीलाई सोमबार चितवनबाट औपचारिक रूपमा बिदाइ गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएर हुर्किएका खगेन्द्रप्रसाद र रुद्रकली नामका हात्तीलाई एक कार्यक्रमका बीच बिदाइ गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।
दुवै हात्तीलाई विशेष ट्रकमार्फत भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइनेछ। त्यहाँबाट आउँदो पुस २ गते कतार एयरवेजको चार्टर्ड फ्लाइटमार्फत सिधै कतार पठाइने तयारी गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए। हात्तीलाई आवश्यक पर्ने हावापानी अनुकूलता र सुरक्षित ढुवानीलाई ध्यानमा राखेर भैरहवाबाट हस्तान्तरण गर्न लागिएको उनले बताए।
पुस २ गते बिहान भैरहवामा नेपालले कतार सरकारलाई औपचारिक रूपमा हात्ती हस्तान्तरण गर्नेछ। नेपालले यसअघि विभिन्न मुलुकलाई गैँडा उपहार दिएको भए पनि हात्ती उपहार दिने यो पहिलोपटक हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार, भाले हात्ती खगेन्द्रप्रसाद ६ वर्षको र पोथी हात्ती रुद्रकली ७ वर्षकी हुन्। दुवै हात्ती चितवन राष्ट्रिय निकुञ्जको खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएर त्यहीँ हुर्किएका हुन्।
०८१ साल वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको औपचारिक भ्रमणमा आएका बेला एक जोडी हात्ती उपहार दिने सहमति भएको थियो। त्यसअनुसार साइटिसलगायत आवश्यक प्रक्रिया पूरा गरी ०८१ साल कात्तिक २ गते मन्त्रिपरिषद्बाट हात्ती उपहारस्वरूप प्रदान गर्ने निर्णय गरिएको हो।
कतारमा हात्तीको हेरचाह र व्यवस्थापनका लागि नेपालबाट एक भेटनरियन प्राविधिक र दुई माउते एक महिनाका लागि पठाइने आचार्यले बताए। उनीहरूले त्यहाँ हात्तीको स्याहार, आहार तथा रहनसहनबारे आवश्यक प्रशिक्षण दिनेछन्।
यसअघि नै नेपालबाट गएको प्राविधिक टोलीले कतारमा हात्तीको बसोबास, आहार र हावापानी अनुकूलनका विषयमा स्थलगत अध्ययन गरिसकेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।
–000–*


