रेशम सापकोटा – सेतो नेपाल –
बाल्मिकी आश्रमको नाम सुन्नासाथ मनमा एउटा अद्भुत श्रद्धा र आस्थाको तरंग उठ्छ। आदिकवि वाल्मीकिले यहीँ बसेर रामायण लेखेको विश्वासले यो भूमि केवल धार्मिक स्थल संगै इतिहासको गर्व, संस्कृतिको खानी र आस्थाको उज्यालो दीप बनेको छ। यहाँ पुग्दा —हजारौँ वर्षअघिको इतिहास अझै जीवित रहेको देख्न सकिन्छ ।

यस पवित्र भूमिको सुरक्षाको लागि नगर पालिका थप जिम्मेवार बनेको देखिन्छ ।दशकौँदेखि संरक्षणमा लागिपरेका १४ घरपरिवार—राना, मगर, कुमाल, गिरी, राई र थापा समुदायका ५७ जना मानिस—मानवीय न्यूनतम आवश्यकताको कमी हुँदाहुँदै पनि आफ्नो भूमिको रक्षामा अडिएका छन्। उनीहरूको त्याग, धैर्य र बलिदानले नै आश्रम अझै पनि जीवित छ भन्ने अनुभूति हुन्छ। हाल सीमा सुरक्षा सशस्त्र प्रहरी बल, जनपद प्रहरी र स्थानीय बासिन्दाले बाल्मिकी आश्रम क्षेत्रको सुरक्षा गरिरहेका छन्। यस स्थलको थप विकास र संरक्षणका लागि माडी नगरपालिकाले विशेष चासो देखाएको छ।

मिति २०८२ साल भाद्र १५ गते आइतबार साँझ ६:१० बजे नारायणगढबाट हाम्रो यात्रा सुरु भयो। माडी नगरपालिकाको ५५औँ नगर कार्यपालिका बैठकलाई बाल्मिकी आश्रममै गर्ने ऐतिहासिक निर्णयले यस यात्रालाई विशेष बनाएको थियो। नगरप्रमुख तारा कुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतो, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी र पत्रकारहरूको सहभागिताले यो यात्रा सामूहिक सङै रमाइलो बनायो ।

रात तारामय थियो, तर हामी सबैको मन उत्साहले उज्यालिएको थियो। गाडीमा गीत, हाँसो र अनुभवका कथा मिसिँदा बाटो लामो भए पनि रमाइलोले छोटो लाग्थ्यो। राति १०:३० बजेतिर विनय त्रिवेणी गाउँपालिका–६ स्थित त्रिवेणी धाम पुगेर भोजनसहित विश्राम गरियो।
भोलिपल्ट बिहान ७:३० बजे, जब घाम क्षितिजबाट मुस्कुराइरहेको थियो, हामी आफ्नै भूमिबाटै बाल्मिकी यात्राका लागि तयार भयौँ। त्रिवेणी र बाल्मिकी धामलाई जोड्ने ४८९ मिटर लामो झोलुङ्गे पुल तर्ने क्रममा तल नारायणी नदी छचल्किँदै बगिरहेको दृश्य अद्भुत लाग्यो। पुल पार गरेपछि चितवन राष्ट्रिय निकुञ्ज सुरु हुन्छ। तर, पुलपारी सुरक्षा पोस्ट नहुँदा आफ्नै भूमिको पवित्र स्थल पुग्न कठिनाइ र प्रतिबन्ध झेल्नुपर्ने बाध्यता मन भारी बनाइरहेको थियो।
पुलपारि करिब चार किलोमिटर लामो गोरेटो बाटो थियो—उकाली–ओराली, खोल्सा, हरियालीले ढाकिएको जङ्गल, चराचुरुङ्गीको गीत र साथीहरूको हाँसो। गीत गाउँदै, फोटो खिच्दै, यसको भविष्यका विकासबारे गफिँदै यात्रा अविस्मरणीय बन्दै गयो। प्रविण भण्डारीले स्वरमा सबैलाई नचाउँदा थकाइ हराएजस्तो भयो।
करिब एक घण्टापछि हामी पवित्र आश्रम पुग्यौँ। धुप–धुवाँको सुगन्ध, पुराना रुखहरूको शीतल छायाँ, अनि त्यहाँको दिव्य वातावरण—सबैले आत्मालाई हलुका बनाइदियो। त्यहीँ नगर कार्यपालिकाको बैठक बस्यो। बैठकमा स्थानीयले आफ्नो पीडा सुनाए—घरविहीनता, बालबालिकाको शिक्षा अभाव, सरसफाइ र खानेपानीको समस्या। बैठकले ऐतिहासिक निर्णय गर्यो—१४ घरपरिवारलाई प्रति परिवार ७५ हजार सहयोग गर्ने, बालबालिकाका लागि स्वयंसेविका शिक्षिका नियुक्त गर्ने, मन्दिर चौबीसै घण्टा खुला राख्ने, खानेपानी र भूक्षय नियन्त्रण गर्ने, सरसफाइलाई दिगो बनाउने। स्वयंसेविका शिक्षिकाका रूपमा कलाकुमारी राना मगरलाई छनोट गर्दा स्थानीयको अनुहारमा देखिएको खुसीले हामी पनि भावुक भयौँ।

बैठकपछि हामीले बाल्मिकी आश्रमका अद्वितीय ऐतिहासिक अवशेषहरूको अवलोकन गर्यौँ। मन्दिर, लव–कुशको जन्मस्थल, उनीहरूले शिक्षा पाएको स्थल, पवित्र भूमिमा सीताको पाताल प्रवेश, ८८ हजार ऋषिहरूले हवन गरेको कुण्ड, वाल्मीकिको अध्ययन स्थल, ऋषिहरूको योग–साधना स्थल, सीताले प्रयोग गर्ने सिलौटा, अमृत कुण्डजस्ता अमूल्य अवशेषहरूले यहाँको ऐतिहासिक र धार्मिक महत्त्वलाई अझ गहिरो बनाइदिन्छन्। ती प्रत्येक अवशेषले इतिहासको जीवित सन्देश सुनाइरहेको अनुभव भयो।

१२:३० बजे स्थानीयले संचालन गरेको खाजाघरमा खाजा खाइसकेपछि हामी भारतीय भूमिबाट नवलपरासीस्थित गजेन्द्र मोक्ष दिव्यधाम दर्शनका लागि गयौँ। आफ्नै भूमिको पवित्र स्थल पुग्न विदेशी भूमिमा निर्भर हुनुपर्ने बाध्यता, त्यसमाथि भारतीय पक्षलाई शुल्क तिर्नुपर्ने अवस्था हाम्रो हृदयमा चोट दिने विषय रह्यो।

दाउनेमा खाना खाएर हामी आफ्नो गन्तव्यतर्फ अघि बढ्यौँ। भरतपुरबाट पत्रकार टोली र नगरपालिकाको टोली छुट्टिए—हामी सञ्चारकर्मी साथीहरू भरतपुर उत्रियौँ भने माडी नगरपालिका सहभागी सदस्यहरू माडी फर्किनुभयो। बाटाभरि पनि हाँसो, गीत र भविष्यका योजनाको चर्चा निरन्तर चलिरह्यो।
यो यात्रा केवल धार्मिक भ्रमण मात्र थिएन। यो माडी नगर कार्यपालिका बैठकसँगै स्थानीयको पीडा बुझ्ने, समाधान खोज्ने, प्रकृतिसँग नजिकिने, इतिहाससँग भेटिने र आस्थासँग आत्मीय सम्बन्ध गाँसिने यात्रा थियो।
बाल्मिकी आश्रममा पाइला टेर्दा लाग्छ—यहाँ केवल रुखपात,जङ्गल संगै इतिहासको आवाज छ, यहाँ आस्थाको स्पन्दन छ, र यहाँ भविष्यको सम्भावना छ। एक दिन अवश्य आउनेछ, जब यसलाई विश्वव्यापी धार्मिक गन्तव्यका रूपमा चिनाइनेछ, र बाल्मिकी आश्रमले माडी मात्र होइन, समग्र नेपालको पहिचान उज्यालो पार्नेछ।–00–


