चितवन, मंसिर ३ । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा बुधबारदेखि नारायणी महोत्सव २०८३ सुरु भएको छ । महोत्सवको बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले उद्घाटन गरेका हुन् ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना तथा आदिवासी महासंघ जिल्ला समन्वय परिषद् चितवनको सहआयोजनामा सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।
उद्घाटन समारोहमा मन्त्री तामाङले बाढीका कारण क्षतविक्षत बनेको नारायणी नदी किनारलाई आफ्नै स्रोत र लगानीमा व्यवस्थित बनाएर महोत्सव आयोजना गरेको भन्दै आयोजकको प्रशंसा गरे । उनले महोत्सवले स्थानीय संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिए ।
बाढीपछि नारायणी नदी किनारमा बालुवा, गेगर र ढुङ्गा थुप्रिनुका साथै विभिन्न स्थानमा खाल्डाखुल्डी बनेका थिए । कार्यक्रम आयोजना गर्नसमेत अनुपयुक्त बनेको नदी किनारलाई आयोजकले आफ्नै स्रोत, साधन र लगानीमा सम्याएर व्यवस्थित बनाएपछि महोत्सव सञ्चालन गरिएको हो ।
आयोजक रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष विक्कल क्षेत्रीका अनुसार यस वर्षको महोत्सवलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन नयाँ संरचना तथा गतिविधि समावेश गरिएको छ । महोत्सवको प्रवेशद्वारमा पिरामिड शैलीको आकर्षक गेट निर्माण गरिएको छ भने नारायणी नदी र आसपासको प्राकृतिक सुन्दरता आकाशबाट अवलोकन गर्न सकिने गरी हट एयर बेलुनको व्यवस्था गरिएको छ ।
त्यसैगरी जिरो ग्र्याभिटी राइडसहित बालबालिका, युवा तथा परिवारका सबै सदस्यलाई लक्षित विभिन्न मनोरञ्जनात्मक खेल तथा राइड सञ्चालन गरिएको छ ।
महोत्सवमा व्यापारिक स्टल, प्रदर्शनी कक्ष, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विभिन्न खानाका परिकार राखिएका छन् । यसले स्थानीय व्यवसायी, उद्यमी तथा साना व्यवसायीलाई आफ्ना उत्पादन र सेवाको प्रचारप्रसार तथा बिक्री वितरणमा सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ ।
नारायणी नदी किनारलाई पर्यटनसँग जोड्दै भरतपुर र समग्र चितवनको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । आन्तरिक पर्यटक आकर्षित गर्ने, स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने, कलाकार तथा सांस्कृतिक प्रतिभालाई अवसर दिने, स्थानीय उत्पादनको बजारीकरण गर्ने र स्थानीय संस्कृतिको संरक्षणमा टेवा पुर्याउने लक्ष्य महोत्सवले राखेको छ ।
महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा ट्राफिक प्रहरीसँग समन्वय गरिएको आयोजकले जनाएको छ । सवारीसाधन व्यवस्थापन, पार्किङ, पैदल यात्रुको आवागमन, सरसफाइ, प्राथमिक उपचार र आपत्कालीन व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।
महोत्सव प्रवेशका लागि साधारण टिकट एक सय रुपैयाँ र विद्यार्थीका लागि ८० रुपैयाँ निर्धारण गरिएको छ । महोत्सव अवधिमा निश्चित दिन साँझ ५ बजेदेखि राति ९ बजेसम्म विशेष कन्सर्टसमेत आयोजना हुनेछ । कन्सर्ट जोनमा प्रवेशका लागि साधारण टिकट तीन सय र भिआइपी टिकट पाँच सय रुपैयाँ तोकिएको छ । कन्सर्टमा सहभागी नहुने दर्शकले भने नियमित टिकटमै महोत्सव अवलोकन गर्न सक्नेछन् ।
आयोजकले महोत्सवमा सहभागी भई सफल बनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।


