रोल्पा, २९ साउन । अविरल वर्षासँगै गएको पहिरोमा घर पुरिँदा रोल्पामा तीन जना बेपत्ता भएका छन्। जिल्लाको सुनछहरी गाउँपालिका–२ फलबाङ गाउँमा बिहीबार राति गएको पहिरोले एक घर पुरिँदा घरभित्र रहेका तीन जना सम्पर्कविहीन भएका हुन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार पहिरोले स्थानीय बासिन्दा वीरबहादुर घर्तीमगरको घर पुरिएको हो। घटनामा घरधनी वीरबहादुर घर्तीमगर, उनकी श्रीमती शनी घर्तीमगर तथा सोही घरमा बास बस्न आएकी छिमेकी लली घर्तीमगर बेपत्ता भएका छन्।
पहिरोले घर पूर्ण रूपमा पुरिएपछि स्थानीयवासी, प्रहरी तथा अन्य सुरक्षाकर्मीको सहयोगमा उद्धार तथा खोजी कार्य सञ्चालन गरिएको छ। रातिदेखि नै खोजी कार्य जारी रहे पनि समाचार तयार पार्दासम्म बेपत्ताहरूको अवस्था खुल्न सकेको छैन।
यसैबीच, सुनछहरी गाउँपालिका–२ कै गिट्ठे गाउँमा पनि पहिरोले अर्को घरमा क्षति पुर्याएको छ। प्रहरीका अनुसार स्थानीय लादे बुढामगरको घरसमेत पहिरोले पुरिएको छ। उक्त घटनामा मानवीय क्षति भए–नभएको विवरण भने प्राप्त हुन बाँकी रहेको छ।
लगातारको वर्षाका कारण ग्रामीण बस्तीहरू उच्च जोखिममा परेका छन्। प्रभावित क्षेत्रमा थप पहिरो जान सक्ने सम्भावना रहेकाले स्थानीयवासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
मनसुन सक्रिय भएसँगै रोल्पासहित देशका विभिन्न पहाडी जिल्लामा पहिरोको जोखिम बढेको छ। मौसमविद्हरूले आगामी केही दिन पनि वर्षाको सम्भावना रहेकाले नदी किनार तथा पहिरो जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।


