काठमाण्डौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखिएको एकता चुनौतीलाई समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाइएको दाबी गरेका छन्।
सोमबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको गुटबन्दी अन्त्य गरी साझा प्रतिबद्धता जनाइएको बताएका हुन्। ‘लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको सुदृढिकरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको हाम्रो पार्टीलाई एकताबद्ध बनाउने चुनौती थियो। सो चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौँ,’ प्रचण्डले भने।
उनले अबदेखि सबैखाले गुटबन्दी र समूहगत प्रवृत्तिको अन्त्य गर्दै एकताबद्ध ढंगले अघि बढ्ने संकल्प गरिएको स्पष्ट पारे। ‘अब हामी सुदृढ एकताका साथ अघि बढ्छौँ,’ उनले भने, ‘सामूहिक प्रतिबद्धता गरेका छौँ।’–00–


