कालिका, १४ मंसिर । सामुदायिक तथा संस्थागत विद्यालयका खेल शिक्षकका लागि दुई दिने प्रशिक्षण कालिकाको वडा नं. ६ मा सुरु भएको छ । विद्यालयहरुमा खेलकुदका कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले खेलकुद शिक्षकहरुका लागि कालिका नगरपालिकाले क्षमता विकास सम्बन्धी तालिम आयोजना गरिएको हो ।
सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख प्रमुख अतिथि रहनुभएको थियो । प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले अतिरिक्त गतिविधिलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । विद्यालयहरुमा किताब पढ्नेसँगै अतिरिक्त गतिविधि, खेलकुदलाई प्रभावकारी बनाउन सके पढाईप्रति विद्यार्थीहरुको रुचिपनि बढ्दै जाने उहाँको भनाई थियो ।
ंगंगाधर रिमालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नगर उपप्रमुृख विमला तामाङ, कालिका नगरपालिकाका प्राविधिक सहायक गेहेन्द्र श्रेष्ठ लगायत कालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुको सहभागीता थियो ।
शिक्षा अधिकृत चन्द्रा शर्माले कार्यक्रम संचालन गर्नुभएको थियो ।
दुईदिन सम्म चल्ने प्रशिक्षण कार्यक्रममा धनिराम चौधरी र कान्ती महतोले खेल शिक्षकहरुलाई प्रशिक्षण दिइरहनुभएको छ ।






