खैरहनी, २४ कात्तिक । राष्ट्रिय भूमि आयोग चितवनको काम सुस्त भएको भन्दै सुकुमबासी समुदायका अगुवाहरुले असन्तुष्टि जनाएका छन् ।
जिल्ला आयोग र स्थानीय तहले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्न भएका कामका बारे नेपाल बसोवास बस्ती संरक्षण समाज जिल्ला समिति चितवनले शुक्रबार आयोजना गरेको समीक्षा तथा अन्तक्र्रिया कार्यक्रममा सुकुमबासी अगुवाहरुले आयोगको कामप्रति चिन्ता जनाएका हुन् ।
समाजका जिल्ला अध्यक्ष छविलाल देवकोटाले आयोगको काम पछिल्लो समय सुस्त भएको बताए । ‘सुरूमा गति लिएर काम भयो, आयोग अहिले सेलाएको जस्तो देखियो’, समाजका जिल्ला अध्यक्ष देवकोटाले भने, ‘आयोगलाई चलायमान बनाउन हाम्रो समुदायको एउटै आवाज छ ।
सुकुमबासीलाई लालपुर्जा प्रदान गर्न जनप्रतिनिधि सकारात्मक रहेको आफूहरुले पाएको उनले बताए । केन्द्रीय सरकारका भूमिमन्त्रीले लालपुर्जा वितरणको कामलाई खासै चासो नदेखाएको पनि देवकोटाको भनाइ थियो ।
समीक्षा कार्यक्रममा स्थानीय तहमा गठित समाजका प्रतिनिधि तथा सुकुमबासी अगुवाले स्थानीय तहले गरेका काम, काममा देखिएका चुनौतीका बारे जानकारी गराएका थिए । खैरहनीको वडा नम्बर–१३ मा वनक्षेत्र र वडा नम्बर–१० मा गौचरणका कारण समस्या देखिने सम्भावना रहेको नेपाल बसोवास बस्ती संरक्षण समाज खैरहनीका अध्यक्ष विक्रम महतोले बताए ।
कार्यक्रममा सहभागीले १० वर्षभन्दा बढी समयदेखि बसोवास गर्दै आएको गौचरन, राजकुलो, जंगल, बरण्डाभार क्षेत्र परे पनि सोही ठाउँको लालपुर्जा पाउनुपर्ने बताएका थिए ।
समाजका केन्द्रीय सदस्य होमनाथ अधिकारले संघीय सरकार र जिल्लास्थित आयोगमा कर्मचारी कम हुँदा काम तीव्र हुन नसकेको बताए । समीक्षा कार्यक्रम जिल्ला समिति अध्यक्ष छविलाल देवकोटाको अध्यक्षतामा भएको थियो ।–00–