नेपाल–जापान सम्बन्धबारे परराष्ट्रमन्त्री र जापानी विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं, ८ जेठ । जापान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच टोकियोस्थित जापानी विदेश मन्त्रालयमा आज भेटवार्ता भएको छ।

भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध पक्षमा विस्तृत कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री राणाले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा जापानले विगतदेखि गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै जापान सरकार तथा जनतालाई धन्यवाद दिइन्।

सन् १९५६ मा स्थापना भएको नेपाल–जापान कूटनीतिक सम्बन्धले आगामी वर्ष ७० वर्ष पूरा गर्ने भएकाले दुवै नेताबीच त्यस अवसरलाई विशेष रूपमा मनाउने तयारीसम्बन्धी छलफल भएको थियो। मन्त्री राणाले जापानी समकक्षी ताकेसीलाई कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएकी थिइन्।

साथै, नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन लागेको सन्दर्भमा मन्त्री राणाले भविष्यमा पनि जापानको निरन्तर सहयोग आवश्यक पर्ने बताउँदै अनुरोध गरेकी थिइन्।

भेटवार्तामा मन्त्री राणाले जापानी उद्योगी र व्यवसायीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गरिदिन आग्रह गर्दै भनिन्, “नेपालमा लगानीका प्रशस्त सम्भावना छन्, नेपाल सरकारले वैदेशिक लगानीमा सुरक्षा र सुनिश्चितता प्रदान गर्छ।”

दुई देशबीचको प्राचीन सामाजिक–सांस्कृतिक सम्बन्ध उल्लेख गर्दै मन्त्री राणाले भगवान् बुद्धको शिक्षाबाट प्रेरित सम्बन्ध, लुम्बिनी र जापानी जनताको सांस्कृतिक सेतुको रूपमा रहेको सम्बन्धको पनि चर्चा गरिन्।

पर्यटन प्रवर्द्धनका सन्दर्भमा उनले लुम्बिनीलगायत नेपालको प्राकृतिक र सांस्कृतिक धरोहर अवलोकनका लागि हरेक वर्ष हजारौँ जापानी पर्यटक आउने गरेकाले भविष्यमा पर्यटन क्षेत्रमा समेत सहकार्यको सम्भावना रहेको बताइन्।

त्यस अवसरमा मन्त्री राणाले हालै सम्पन्न सगरमाथा संवादमा जापान सरकारको तर्फबाट उपविदेशमन्त्रीको सक्रिय सहभागिता रहेकोप्रति आभार पनि व्यक्त गरेकी थिइन्।

Share:

सम्बन्धित समाचारहरु