सुनसरीमा ७८३ किलो गाँजासहित ट्रक नियन्त्रणमा, दुई जना पक्राउ

काठमाडौं, १८ वैशाख | सशस्त्र प्रहरी बलले सुनसरीमा ७८३ किलो गाँजासहित एक ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बलको १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले बुधबार धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गमा सो कार्यवाही गरेको हो। भेडेटारबाट धरानतर्फ आउँदै गरेको शंकास्पद नम्बर प्लेटबिहीन ट्रकलाई जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ। जाँचको क्रममा सो ट्रकमा ना ७ ख २८१ नम्बर प्लेटसमेत फेला परेको थियो।

ट्रक चालक सुनसरीका ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटाका १८ वर्षीय आकाश राईलाई समेत प्रहरीले पक्राउ गरेको हो। बरामद गाँजा र ट्रकसहित उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।

यसअघि बुधबार बिहानमात्र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस धनकुटाले ४२१ किलो गाँजासहित एक कार नियन्त्रणमा लिएको थियो। पछिल्लो समयमा पूर्वी नेपालमा गाँजा तस्करीका गतिविधिहरू तीव्र हुँदै गएकाले सशस्त्र प्रहरीले निगरानी कडा बनाएको जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु