नारायणघाट–बुटवल सडक आयोजनामा एक महिनामै अहिलेसम्मकै उच्च प्रगति

काठमाडौं ,१८ वैशाख | नारायणघाट–बुटवल सडक विस्तार आयोजनामा पछिल्लो एक महिनामा अहिलेसम्मकै उच्च भौतिक प्रगति भएको छ। आयोजनाका अनुसार अप्रिल २०२५ मा ३.६३ प्रतिशत काम सम्पन्न भई यो आयोजना सुरु भएयताकै सबैभन्दा बढी प्रगति भएको हो।

आयोजनाले मे महिनामा पनि यो रेकर्ड तोड्ने लक्ष्य राखेको जनाएको छ। अहिले यो सडकको ८२ प्रतिशत भागमा नयाँ कालोपत्र सडकमार्ग हुँदै सवारी आवागमन सम्भव भएको छ। आयोजनाको समग्र भौतिक प्रगति ६४ प्रतिशत पुगेको छ।

अप्रिल २०२५ मा ३.२६ प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि प्राप्त प्रगतिले त्यसलाई पार गरेको देखिएको छ। हाल रातको समयमा सवारी आवागमन रोकेर काम तीव्र गतिमा अघि बढाइएको आयोजनाले जनाएको छ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने ११३ किलोमिटरको यो सडक खण्डको निर्माणका लागि सरकारले माघ २०७५ मा सम्झौता गरेको थियो। चार वर्ष (४२ महिना) भित्र काम सक्ने सम्झौता भए पनि तोकिएको समयमा काम नसकिएपछि सरकारले प्रत्येक वर्ष म्याद थप गर्दै आएको छ। यद्यपि, पछिल्लो समयमा भने कामले उल्लेखनीय गति लिएको छ।

यो आयोजना गैंडाकोट–दाउन्ने (६४.४२ किमी) लाई पूर्वी खण्ड र दाउन्ने–बुटवल (४८.५८ किमी) लाई पश्चिमी खण्डमा विभाजन गरिएको छ।

आयोजनाअन्तर्गत कुल ४६२ वटा कल्भर्ट, ६४ वटा पुल, ११३ किलोमिटर कालोपत्र सडक र १०६.१७ किलोमिटर साइड ड्रेन निर्माण गरिनेछ। यो आयोजना कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको हो।–00—

Share:

सम्बन्धित समाचारहरु