ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रियो

काठमाडौं, १४ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि त्यसको विरोधमा पार्टीले संघीय राजधानी काठमाडौंमा सडक प्रदर्शन सुरु गरेको छ।

ललितपुरको च्यासलस्थित पार्टी सचिवालय बैठक जारी रहेका बेला काठमाडौंका विभिन्न स्थानमा एमालेका कार्यकर्ताहरू सडकमा उत्रिएका छन्। उनीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।

शनिबार बिहान अध्यक्ष ओली पक्राउ परेपछि एमाले नेताहरूले तत्काल सडक संघर्षमा उत्रिने चेतावनी दिएका थिए। सोहीअनुसार अहिले पार्टी औपचारिक निर्णयका लागि बैठकमा बसेको छ भने कार्यकर्ताहरू भने सडकमा विरोध प्रदर्शनमा सक्रिय भएका छन्।

प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरूले ‘प्रतिशोधपूर्ण राजनीति बन्द गर’ जस्ता नारा लगाउँदै सरकारको कदमको कडा विरोध जनाइरहेका छन्।—00–

Share:

सम्बन्धित समाचारहरु