काठमाडौं, १ बैशाख । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि पार्टी नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्न सुरु गरेका छन् । अब हरेक शुक्रबार उनलाई नेता तथा कार्यकर्ताले पेरिसडाँडामा भेट्न सक्नेछन् ।
यस अघि प्रधानमन्त्रीलाई बालुवाटार र सिंहदरबारमा पार्टीका नेता कार्यकर्ता भेटघाटका लागि आउने जाने गरेका थिए । प्रधानमन्त्री र मन्त्रीहरूलाई आफ्नो काममा अबरोध नहोस् भनेर केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्तासँग भेट्ने व्यवस्था मिलाइएको हो ।
माओवादी केन्द्रले यसअघि नै २०८० साल वैशाख १ गतेदेखि प्रधानमन्त्री प्रचण्डसँगै माओवादीबाट मन्त्री बनेकाहरूलाई केन्द्रीय कार्यालयमा भेट्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो । यही क्रममा प्रधानमन्त्री प्रचण्ड आज बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् ।
माओवादी मन्त्रीहरूलाई भने अपराह्न ४ बजेदेखि ६ बजेसम्म भेट्ने समय मिलाइएको छ ।–00–


