काठमाण्डौ – देशभर गर्मी बढेको छ ।
पछिल्लो दुई–तीन दिन यता काठमाण्डौसहित देशभरकै अधिकतम तापक्रम दुईदेखि तीन डिग्री सेल्सियसले बढेको छ ।
गएको सोमवार र मंगलवार काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियसको हाराहारीमा थियो । बुधबार ३२ दशमलव २ डिग्री सेल्सियसमा पुगेको छ ।
तराईका धेरैजसो क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ भने केही क्षेत्रमा नाघेको छ ।
सिमराको अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियस र भैरहवाको ४० दशमलव ९ डिग्री सेल्सियस पुगेको छ ।
यस्तै, नेपालगञ्ज, विराटनगर, धरान लगायत क्षेत्रको मौसम ४० डिग्री सेल्सियसको हाराहारीमा छ।
अझै तीन दिन मौसम यस्तै रहने अनुमान रहेको मौसमविद् रोजर लामिछानेले बताउनुभयो ।
तराई मधेसका धेरैजसो जिल्लामा केही दिन अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुग्ने अनुमान रहेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकुल असर पुर्याउन सक्ने भन्दै सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
गर्मी बढी हुँदा तातो हावा चल्ने र लु लाग्ने सम्भावना धेरै हुने अर्का मौसमविद् संजिव अधिकारीले बताउनुभयो ।
घाम चर्किएका बेला सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्न विज्ञको सुझाव छ ।


