मेघौलीलाई प्राकृतिक सौन्दर्यसहितको पर्यटकीय केन्द्र बनाउँछुः सुवेदी

"विजय सुवेदीलाई भेटेपछि मतदाताहरु उत्साहित "

भरतपुर १३ वैशाख । पश्चिम चितवनको मेघौलीलाई अब प्राकृतिक सौन्दर्यसहितको नयाँ पर्यटकीय केन्द्रको रुपमा विकास गर्न आफू लागिपर्ने भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार विजय सुवेदीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यस क्षेत्रमा आज मङ्गलबार आयोजित घरदैलो र चुनावी सभाका क्रममा उम्मेदवार सुवेदीले पर्यटकीय केन्द्रको सम्भावना बोकेर पनि आवश्यक पूर्वाधार नहुँदा मेघौली पछाडि परेको बताउनुभयो ।

वैशाख ३० गते हुने निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेपछि सुवेदीले पश्चिम चितवनबाटै घरदैलो अभियान शुरुवात गर्नुभएको थियो । उहाँले महानगरका २७ र २८ नम्बरका मतदातासँग भेटघाट सम्पन्न गरी नारायणी र राप्ती नदीको तटबन्ध गरी आवास, सडक, हरियाली किनार, जलक्रिडा र अन्य यातायातको विकास गर्ने पनि बताउनुभयो ।

बीसहजारी ताल र सीतामाइदेखि मेघौली गोलाघाटसम्मको राप्ती करिडोरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने आफ्नो योजना रहेको पनि घरदैलोको क्रममा उहाँले बताउनुभयो । सोमबार मात्रै सुवेदीले मेयरमा मनोनयन दर्ता गर्नुभएको थियो । स्वच्छ, सुन्दर र समृद्ध भरतपुर निर्माणका लागि महानगरबासीकै साथ र सहयोगमा कार्यथालनी गरिने पनि उहाँले बताउनुभयो । मेघौली बिमानस्थलको स्तरोन्नती गरी यसको सञ्चालन गर्न सकिए यस क्षेत्रका जनताको आर्थिकस्तर समेत वृद्धि हुने हुँदा यस कामका लागि आफू प्रतिबद्ध रहेको सुवेदीले बताउनुभयो ।

बागमती प्रदेश सभाका सदस्य रहेका सुवेदीलाई एमालेले भरतपुरको मेयरमा उम्मेदवारमा सिफारिस गरेसँगै उहाँले प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएको थियो । सो क्रममा स्थानीयले स्वच्छ छविका उमेदवारका रुपमा विजय सुवेदीलाई पाउँदा खुसी लागेको बताउनुभयो ।

एमालेले भरतपुरमा राप्रपासँग चुनावी तालमेल गरेकाले घरदैलोमा राप्रपाका तर्फबाट उपमेयरकी उम्मेदवार हिमला गुरुङको पनि सहभागिता थियो । एमालेले राप्रपालाई उपमेयरसहित दुई वटा वडामा सहयोग गर्ने भएको छ । बाँकी २७ वटा वडामा एमालेले आफ्ना उम्मेदवार उठाएको छ । भरतपुरको २७ नम्बर वडामा ६०३८ र २८ नम्बर वडामा ४८२१ मतदाता छन् । महानगरमा भने एक लाख ८५ हजार ७५२ मतदाता छन् ।
घरदैलोका क्रममा उपमेयरकी उम्मेदवार गुरुङले विकासप्रेमी मेयरको साथमा काम गर्न सके भरतपुरको मुहार फेर्न सकिने बताउनुभयो । विकास गर्नु सबैको साझा दायित्व भएकाले मेयरले गरेका हरेक प्रतिवद्धतामा आफ्नो सहभागिता र समर्थन रहने उहाँले बताउनुभयो ।

कार्यक्रममा वाग्मती प्रदेश सांसद तथा राप्रपाकी सहमहामन्त्री रिना गुरुङले मेयर–उपमेयर पद कसैको पेवा नभएकाले जनताबाट अनुमोदित हुनुपर्ने बताउनुभयो । चुनावी घरदैलो अभियानलाई सम्बोधन गर्दै उहाँले जनताका अपेक्षा अनुसारका विकास गर्न व्यवस्थित गुरुयोजना र नीति आवश्यक रहेकोले एमाले राप्रपाको गठबन्धनलाई विजयी गराउन आह्वान गर्नुभयो । उहाँले महानगरमा अहिलेका विकास दीर्घकालीन सोचले नभएकाले अब भविष्यका लागि सोचेर व्यवस्थित विकासका योजनाहरु कार्यान्वयन गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

चुनावको मुखमा केही योजना शिलन्यास र उद्घाटन गरेको देखाउँदै जनता झुक्याउने काम भएको गुरुङको टिप्पणी थियो । टोल–टोलबाट माग भएका कैयन योजनाहरुलाई बेवास्ता गरिएको महसुस महानगरवासीले गरेको गुरुङको भनाइ छ । कार्यक्रमा एमाले र राप्रपाका उल्लेख्य कार्यकर्ता र स्थानीय वासिन्दाको उपस्थिति थियो ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु