चितवन, ३ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ को समस्या अहिले मात्र देखिएको होइन भन्ने धारणा व्यक्त गर्नुभएको छ।
प्रेस सेन्टर चितवनले आज शिवनगरस्थित प्रचण्ड निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले भिजिट भिसा सम्बन्धी समस्या वि.सं. २०६४ सालदेखि नै रहँदै आएको उल्लेख गर्नुभयो। “यो विषय २०६४ सालदेखि चल्दै आएको हो, तपाईंहरूलाई पनि थाहा भएकै कुरा हो,” अध्यक्ष दाहालले भन्नुभयो, “अब यसमा गम्भीर छानबिन र नीतिगत सुधार अपरिहार्य छ।” उहाँले यो मुद्दालाई त्यत्तिकै नछाडिने स्पष्ट पार्दै, “जरुरी परे संविधान संशोधन, नयाँ ऐन निर्माण र नीतिगत निर्णय गर्नसमेत पछि नहटिने” अठोट व्यक्त गर्नुभयो।
पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले आफूहरू अहिले प्रतिपक्षमा भए पनि जनताको हितका मुद्दामा सत्ता पक्षकै जस्तो जिम्मेवार भूमिका निर्वाह गरिरहेको पनि बताउनुभयो। “संविधान, ऐन कानुन र प्रणाली जोगाउन हामी बाध्यतावश सत्तापक्षजस्तै काम गरिरहेका छौं,” उहाँले भन्नुभयो।
त्यस्तै, उहाँले संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षा ऐन, शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्नु र बजेट पारित गर्नु जस्ता महत्त्वपूर्ण कार्यहरूका लागि ३० दिनभित्र छानबिन समिति गठनको सर्तमा संसद् अवरोध हटाउने सहमति भएको जानकारीसमेत दिनुभयो।–00–


