भरतपुर, ३१ जेठ । चितवनको राप्ती नगरपालिकाले छोरीबुहारी अध्ययनका लागि विनियोजन गरिएको बजेट पुरूषलाई उपलब्ध गराएको तथ्य भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले २०७९ मा निकालेको स्थानीय तहको प्रतिवेदनअनुसार राप्ती नगरपालिकाले छोरीबुहारी अध्ययनका लागि विनियोजन गरेको २० लाख बजेट पहुँचको आधारमा छोरा (पुरूष)ले लगेको भेटिएको हो ।
राप्ती नगरपालिकाले बुद्धशान्ति क्याम्पसमा छोरीबुहारी अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भनी २० लाख रूपैयाँ विनियोजन गरेको थियो । ६० जना छोरीबुहारीलाई अध्ययनका लागि प्रतिविद्यार्थी ३२ हजार ६०० रूपैयाँको दरले छात्रवृत्ति दिने निर्णय भएको थियो । सोही निर्णयअनुसार ६० जनालाई छात्रवृत्ति उपलब्ध गराइयो, तर छात्रवृत्ति पाउनेमा १४ जना छोरा (पुरूष) भेटियो ।
‘यसरी छोरीबुहारीको नाममा विनियोजित बजेट पुरूषषलाई दिइएको उद्देश्यसम्मत देखिएन । छात्रवृत्ति पाएका विद्यार्थीको अवस्थाका बारेमा राप्ती नगरपालिकाले अनुगमन पनि केही गरेको छैन’, महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा भनिएको छ ।
सांभारः चितवन पोष्ट


