भरतपुरमा सुरु भयो चौथो राष्ट्रपति रनिङ शिल्ड

चितवन, ६ माघ–

चितवनको भरतपुरमा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । भरतपुर महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुक्रबारदेखि सुरु भएको हो ।

भरतपुर–१८ स्थित गुञ्जनगर माध्यमिक विद्यालयका खेलमैदानमा सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्ने छ । महानगरका कुल ७६ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिएका छन् । प्रतियोगिताको महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले समुद्घाटन गरेका छन् । सो क्रममा बोल्दै उनले यस खालका प्रतियोगिताले नेपालका राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सघाउन पुग्ने बताए ।

उनले महानगरले खेलकुदलाई प्राथमिकता राख्दै आएकाले राष्ट्रिय खेलकुद परिषद्बाट समेत सम्मानित भएको भन्दै खेलकुदलाई सधै प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता जनाए । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए । समुद्घाटन कार्यक्रम भरतपुर–१८ का वडा अध्यक्ष बाबुराम रानाको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगिता उद्घाटन अघि प्रतियोगितामा सहभागि विद्यार्थीहरुले मार्चपास गरेका थिए ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु