ट्रम्पको निर्देशनः अवैध आप्रवासी निष्कासन गर्न २० हजार नयाँ अधिकारी नियुक्त गरिने

काठमाण्डौं, २८ बैशाख ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीको निष्कासन प्रक्रिया तीव्र बनाउन गृह सुरक्षा विभाग (Homeland Security) मा कम्तीमा २० हजार नयाँ अधिकारी थप्न आदेश दिएका छन्।

शुक्रबार जारी गरिएको कार्यकारी निर्देशनमा अवैध आप्रवासीलाई स्वतः निष्कासन (Self-Deportation) गर्न प्रोत्साहन दिने योजना पनि समावेश गरिएको छ। ट्रम्पले एक भिडियो सन्देशमार्फत यस्तो योजना ल्याइएको जानकारी दिँदै, “अब उनीहरूका लागि अमेरिका छाड्न सजिलो बनाइएको छ,” भनेका छन्।

नयाँ आदेशअनुसार, स्वेच्छाले अमेरिका छाड्न चाहने अवैध आप्रवासीलाई हवाई टिकट र घर फर्कने भत्ता पनि अमेरिकी संघीय सरकारले उपलब्ध गराउनेछ। तर, गृह सुरक्षा विभागमा थप कर्मचारी भर्ना गर्ने आर्थिक स्रोत कहाँबाट जुटाइने भन्ने विषय खुलाइएको छैन।

हाल इमिग्रेसन र कस्टम्स एन्फोर्समेन्ट (ICE) मा २१ हजारभन्दा बढी कर्मचारी कार्यरत छन्। यसमध्ये ६,१०० डिपोर्टेसन अधिकारी र ७५०भन्दा बढी सहयोगी कर्मचारी रहेका छन्।

राष्ट्रपति ट्रम्पले यसअघि पनि स्थानीय र राज्य कानुन कार्यान्वयन निकाय तथा नेशनल गार्ड सँग समन्वय गरी अवैध आप्रवासी नियन्त्रणमा सहयोग माग्दै आएका थिए। नयाँ आदेशमा यस्ता निकायहरूलाई सहकार्यलाई अझ बलियो बनाउने भनिएको छ।

ट्रम्प प्रशासनको लक्ष्य भनेको अवैध आप्रवासी नियन्त्रण गर्न थप कडा र व्यापक उपायहरू अपनाउनु हो।

Share:

सम्बन्धित समाचारहरु