स्थानीय तहमा सीमान्तकृत महिलाको सहभागिता बढाउन मिडियाले समावेशीको मुद्धालाई जोड दिन सुझाव

भरतपुर। आगामी स्थानीय तहको निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको राजनीतिक सहभागिता र नेतृत्व विकास सुनिश्चित गर्न सञ्चारमाध्यमले जिम्मेवार, तथ्यपरक र समावेशी भूमिका निर्वाह गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

संकल्प–शान्ति, न्याय र लोकतन्त्रका लागि महिला सञ्जाल, बागमती प्रदेशको आयोजना तथा क्रियाशील पत्रकार महिला (WWJ) चितवनको समन्वयमा शुक्रबार भरतपुरमा आयोजित “आगामी स्थानीय तहको निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता बढाउनका लागि मिडियाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले संविधानले सुनिश्चित गरेको समावेशी प्रतिनिधित्वलाई व्यवहारमा प्रभावकारी बनाउन सञ्चारमाध्यम, राजनीतिक दल, नागरिक समाज र राज्यका निकायबीच समन्वय आवश्यक रहेको बताएका हुन्।

कार्यक्रममा अधिवक्ता रमेश काफ्लेले स्थानीय तहको निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागितासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै महिलाको प्रतिनिधित्व संख्यात्मक रूपमा बढे पनि नेतृत्व र निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण उपस्थिति अझै चुनौतीपूर्ण रहेको बताए। उनले सीमान्तकृत महिलाका मुद्दालाई सञ्चारमाध्यमले निरन्तर प्राथमिकताका साथ उठाए मात्र समावेशी लोकतन्त्र थप सुदृढ बन्न सक्ने धारणा राखे।

अधिकारकर्मी बन्दना खाँडले समाजसेवाका क्रममा आफूले भोगेका अनुभव र देखेका चुनौतीहरू प्रस्तुत गर्दै महिलाको नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि र राजनीतिक पहुँच विस्तारमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने बताइन्।

नेपाल पत्रकार महासंघ चितवनका सभापति बसन्त पुराजुली, अग्रज पत्रकार रमेश कुमार पौडेल, ईश्वरकुमार जोशी, फोनिज चितवनका संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, पत्रकार महासंघका उपाध्यक्ष दीपेन्द्र अधिकारी, शान्ता अधिकारी, विमर्श कँडेल लगायतले पत्रकारिताले दबिएका र सीमान्तकृत समुदायका आवाजलाई प्राथमिकताका साथ उठाउनुपर्ने धारणा राखेका थिए। उनीहरूले सत्य र तथ्यमा आधारित पत्रकारितामार्फत सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई थप सुदृढ बनाउन सकिने उल्लेख गरे।

आर्थिक हिसावले अब्बले नभए सम्म सीमान्तकृत समुदायका महिलाहरुलाई राजनीतिमा ल्याउन कठिन देखिएकोमा उनीहरुले जोड दिए । आर्थिक र शैक्षिक हिसावले यि समुदायका महिलाहरुलाई अब्बल बनाउन आवश्यक देखिएको उनीहरुको भनाई थियो ।

आयोजक संस्थाकी बागमती प्रदेश सदस्य सुस्मिता खातीले जातीय विभेदका कारण आफूले भोग्नुपरेका पीडा सुनाउँदै सीमान्तकृत महिलाको पक्षमा आवाज बुलन्द गर्न पत्रकारहरूलाई आग्रह गरिन्। उनले सामाजिक सञ्जालको ‘भ्युज’ भन्दा सत्य, तथ्य र जनसरोकारका विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै दबिएका आवाजलाई सञ्चारमाध्यममार्फत मूलधारमा ल्याउन आग्रह गरिन्।

संस्थाका अध्यक्ष लक्ष्मी प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।

Share:

सम्बन्धित समाचारहरु