चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको जुगेडी बजारबाट दाहिनेतर्फ एउटा सानो कच्ची बाटो उकालो लाग्छ । सडक छाडेर करिब पाँच किलोमिटर भित्र पसेपछि वातावरण फेरिन थाल्छ । शहरको भीड, धुलो र कोलाहल हराउँदै जान्छ । जंगलको शान्त सुगन्ध मिसिएको हावा, चराचुरुङ्गीको आवाज र हरियालीको घेराबीच अचानक देखापर्छ— संयोजन एग्रो फार्म हाउस ।
भरतपुर महानगरपालिका वडा नं. २९ कुसुमटारमा फैलिएको यो फार्म हाउस कुनै सामान्य कृषि फार्म जस्तो लाग्दैन । करिब दुई विगाहा सात कठ्ठा क्षेत्रफलमा फैलिएको यो ठाउँमा पुगेपछि मानौं जंगलभित्रको कुनै प्राकृतिक रिसोर्टमा आइपुगेको अनुभूति हुन्छ । तर, यो ठाउँको विशेषता केवल सुन्दरता मात्रै होइन, मेहनत, सपना र संघर्षको कथा पनि हो ।
यो फार्मका सञ्चालक हुन् अधिवक्ता सूर्यबहादुर बोहोरा । पेशाले कानुन व्यवसायी भए पनि उनको मन भने प्रकृतिसँग गाँसिएको छ । त्यसैले अदालतको बहससँगै उनले कृषि र पशुपालनलाई जीवनको अर्को अभियान बनाएका छन् ।
२०६८ सालतिर बाख्रापालन गर्ने उद्देश्यले कुसुमटारमा जग्गा खरिद गरेका बोहोराले विस्तारै आफ्नो सपनालाई ठूलो आकार दिन थाले । अहिलेसम्म फार्ममा करिब एक करोड रुपैयाँ लगानी भइसकेको छ । फार्ममा व्यवसायिक बाख्रापालन, लोकल कुखुरापालन र माछापालन भइरहेको छ ।
कुनै समय फार्ममा ३५० भन्दा बढी बाख्रा थिए । अहिले संख्या केही घटे पनि बाख्रापालन अझै मुख्य आकर्षण बनेको छ । सुधारिएको खोर, खुला वातावरण र प्राकृतिक चरिचरनले यहाँ हुर्किएका खसीबोका निकै स्वस्थ देखिन्छन् ।
फार्ममा चल्लासहित करिब दुई सय हाराहारीमा लोकल कुखुरा छन् । यहाँ पुग्ने पाहुनाहरूले आफूले मन परेको लोकल भाले आफैं छानेर समात्न सक्छन् । यही अनुभवले फार्मलाई अन्य ठाउँभन्दा फरक बनाएको छ ।
माछापालन पनि उत्तिकै आकर्षक छ । खोलाको मुहानलाई ढलान गरेर बनाइएका चार वटा पोखरीमा अहिले करिब १० हजार माछाका भुरा हालिएका छन् । पोखरी हेर्दा कृत्रिमभन्दा पनि प्राकृतिक तालजस्तो अनुभूति हुन्छ । यहाँ आउने पाहुनाले आफैं माछा समातेर पकाएर खान पाउने व्यवस्था मिलाइएको छ ।
फार्ममा पुग्नेहरूलाई सबैभन्दा धेरै आकर्षित गर्ने पात्रमध्ये एक हो— “कोको” ।
कोको फार्ममा पालिएको कुकुर हो । तर, सामान्य कुकुर होइन, फार्मको सुरक्षागार्ड जस्तै । बाख्रा, कुखुरा र सम्पूर्ण फार्मको निगरानीमा कोको सधैं सक्रिय देखिन्छ । सञ्चालक बोहोराका अनुसार कोकोले अत्यन्त इमान्दारिताका साथ आफ्नो ‘ड्युटी’ निभाउँछ ।
फार्मको व्यवस्थापनमा बोहोराकी धर्मपत्नी मिना कुमारी चपाईं को भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । उनले फार्मको दैनिक रेखदेख सम्हाल्दै आएकी छन् । फार्मभित्रै बनाइएको सानो तर आकर्षक घरमा उनीहरू स्थायी रूपमा बस्न थालेको तीन वर्ष भइसकेको छ ।
अहिले बोहोराको अर्को सपना भनेको यही फार्मलाई “फार्म स्टे” का रूपमा विकास गर्नु हो । शहरबाट थाकेका मानिसहरू प्रकृतिसँग नजिक हुन सकून्, गाउँको जीवन अनुभव गर्न सकून् र अर्गानिक खानाको स्वाद लिन सकून् भन्ने उद्देश्यले फार्म स्टेको अवधारणा अघि बढाइएको हो ।
उनका अनुसार निकट भविष्यमा यहाँ आउने पाहुनाले गाउँघरको जीवनशैली अनुभव गर्न पाउनेछन् । आफैं माछा समात्ने, लोकल कुखुरा रोज्ने, जंगलको शान्त वातावरणमा रात बिताउने र अर्गानिक परिकारको स्वाद लिने सुविधा विकास गरिँदैछ ।
कुसुमटार केवल बोहोराको फार्मका कारण मात्रै चर्चामा छैन । यो तामाङ समुदायको बसोबास रहेको गाउँ हो, जहाँ अधिकांश स्थानीयको मुख्य पेशा नै बाख्रापालन बनेको छ । प्रायः प्रत्येक घरमा बाख्रा पालिएका छन् । सुधारिएको खोर, प्रशस्त घाँस र खुला चरिचरन क्षेत्र भएकाले यहाँका स्थानीय व्यावसायिक रूपमा बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।
स्थानीयका अनुसार बाख्रापालनबाट राम्रो आम्दानी हुन थालेपछि गाउँको जीवनस्तरमा परिवर्तन आएको छ । भौगोलिक हिसाबले पहाडी क्षेत्र भएकाले यहाँ घाँस र चरनको अभाव छैन । त्यसमाथि नारायणगढ बजार नजिक भएकाले उत्पादन भएका खसीबोका बिक्री गर्न पनि समस्या हुँदैन ।
संयोजन एग्रो फार्म अहिले केवल एउटा निजी व्यवसाय होइन, कृषि पर्यटनको सम्भावना बोकेको नमुना गन्तव्य बन्न थालेको छ । शहरको भीडबाट टाढा, जंगलको काखमा बसेर अर्गानिक जीवनको स्वाद लिन चाहनेहरूका लागि यो ठाउँ आगामी दिनमा चितवनकै नयाँ आकर्षण बन्न सक्छ ।–00—-


