चितवन, ११ साउन – पश्चिम चितवनका विभिन्न क्षेत्रमा आज साउन ११ गते ६ घण्टासम्म लोडसेडिङ सुरु भएको छ।
नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले लोडसेडिङ तालिका सार्वजनिक गर्दै अत्यधिक विद्युत् भारका कारण यस्तो व्यवस्था गर्नुपरेको जानकारी दिएको छ।
प्राधिकरणका अनुसार, हालको अत्यधिक गर्मी र रोपाइँको सिजनमा आकाशे पानी नपरेकाले सिँचाइका लागि बिजुलीको माग अत्यधिक बढेको छ। फलस्वरूप वितरण लाइनमा लोड सहन नसक्ने अवस्था आएकाले बिधुत आपूर्तिमा कटौती गर्नुपरेको हो।
चनौली वितरण केन्द्र अन्तर्गतका नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूबाट आपूर्ति हुने क्षेत्रहरू लोडसेडिङको प्रभावित क्षेत्रमा पर्छन्।
प्राधिकरणले जानकारी गराएअनुसार, भरतपुर १३२/३३ केभी सब-स्टेशनबाट जोडिएको ३३ केभी डक कन्डक्टर तारमा अधिकतम ३०० एम्पिएर विद्युत् प्रवाह गर्न मिल्ने भए तापनि हाल ४५० एम्पिएरभन्दा बढी लोड गएपछि लाइनले धान्न नसक्ने अवस्था आएको हो।
यस समस्याको दीर्घकालीन समाधानका लागि बसैनी सब-स्टेशनबाट वैकल्पिक ३३ केभी प्रसारण लाइन निर्माण कार्य अगाडि बढाइएको प्राधिकरणले जनाएको छ।
🔌 लोडसेडिङ तालिका यस्तो छ:
- नारायणी–माडी फिडर:
⏰ बिहान ६:०० – ९:००
⏰ दिउँसो ३:०० – ६:०० - मेघौली–विजयनगर–शुक्रनगर फिडर:
⏰ बिहान ९:०० – १२:००
⏰ बेलुका ६:०० – ९:०० - जगतपुर–रामपुर फिडर:
⏰ दिउँसो १२:०० – ३:००
⏰ राति ९:०० – १२:००


