चितवन, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन्। शुक्रबार अपरान्ह उनी चितवन पुगेका हुन्।
सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड अबको दुई दिन चितवन बस्नेछन। ‘आइतबार फर्कनेगरी उहाँ चितवन आउनुभएको हो,’ स्रोतले भन्यो, ‘केही निर्धारित कार्यक्रमहरूमा सहभागी हुन उहाँ चितवन आइपुग्नुभएका हुन्।’
उनलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल लगायत माओवादी केन्द्रका नेताहरूले विमानस्थलमा स्वागत गरेका छन्।
चितवन प्रधानमन्त्री प्रचण्डको गृह जिल्ला पनि हो। यसअघि चितवन–३ बाट निर्वाचित भएका प्रधानमन्त्री प्रचण्ड यसपटक भने गोरखाबाट निर्वाचन लडेका थिए।
चितवनमा प्रधानमन्त्री प्रचण्डले एकतले घर बनाएका छन्। उनी पछिल्लो समय सोही घरमा पुगेर बस्ने गरेका छन्।–00–


