खोटाङमा सामूहिक बलात्कारपछि युवतीको हत्या, एक पक्राउ

सुनसरी । खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सोमबार सामूहिक बलात्कारपछि हत्या भएको खुलासा भएको छ। घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीका अनुसार प्रारम्भिक अनुसन्धानमा पाँच–छ जनाको समूहले सहकारीमा काम सकेर घर फर्किंदै गरेकी रेस्मिकालाई बाटैमा नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरी हत्या गरेको खुलेको हो।

छिमेकी दिपक सार्की पक्राउ परेका छन्। उनले प्रहरीलाई बयान दिँदै घटनामा संलग्न अन्य अभियुक्तहरूको नामसमेत बताएका छन्। बाँकी अभियुक्तलाई खोजी गर्न थप प्रहरी टोली परिचालन गरिएको डिएसपी बुढाथोकीले जानकारी दिए।

रेस्मिकाको शवको मुचुल्का संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएको थियो। बुधबार इटहरीको बुढिखोलामा उनको दाह संस्कार गरिएको छ।

डिएसपी बुढाथोकीले भने, “घटनामा संलग्न सबैलाई छिट्टै पक्राउ गरी कानुनी दायरामा ल्याइनेछ।” उनका अनुसार अपराधी नियन्त्रणमा नआएसम्म खोटाङमा प्रहरीको विशेष अपरेशन जारी रहनेछ।–00–

Share:

सम्बन्धित समाचारहरु