चितवन, २० साउन । जैविक विविधताले भरिपूर्ण चितवन–पर्सा भू–दृश्यमा वन्यजन्तु उद्धार र संरक्षणमा महत्वपूर्ण भूमिका खेलिरहेको नेशनल ट्रस्ट फर नेचर कन्भरभेसन – बायोडाइभर्सिटी कन्भरभेसन सेन्टर (NTNC-BCC) ले आर्थिक वर्ष २०८१/८२ मा ३६ प्रजातिका ११३ वन्यजन्तु उद्धार गरेको छ।
NTNC-BCC को टोलीले सञ्चालन गरेका उद्धार अभियानमा १२ प्रजातिका स्तनधारी जनावर (जसमा ७ बाघ र १५ हात्ती), ६ प्रजातिका चराहरू, ६ प्रजातिका सरीसृपहरू, र १२ प्रजातिका सर्पहरू समेटिएका छन्। यी अभियानहरू चितवन–पर्सा क्षेत्रमा संकटमा परेका वन्यजन्तुको उद्धार, उपचार तथा पुनर्स्थापना गर्न केन्द्रित थिए।
संस्थाका अनुसार, यी उद्धार प्रयासहरू वन्यजन्तु संरक्षणमा वैज्ञानिक पद्धति र समुदाय–केन्द्रित समाधानको संयोजनबाट गरिएको हो। मानव–वन्यजन्तु सहअस्तित्व कायम राख्न र साझा भू–दृश्यमा शान्तिपूर्ण बसोबास सम्भव बनाउन यस्ता कार्यहरू महत्वपूर्ण छन्।
NTNC–BCC ले विगतदेखि नै संकटमा परेका वन्यजन्तुहरूको संरक्षण, निगरानी र दीर्घकालीन व्यवस्थापनमा निरन्तर काम गर्दै आएको छ। यस वर्षको रेकर्डले संरक्षण क्षेत्रमा संस्थाको अग्रणी भूमिका अझ सुदृढ बनाएको देखिन्छ।




–00–


