विप्लव नेतृत्वको माओवादीले फागुन ५ र १५ गते महँगी विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने

काठमाडौ,२५ माघ । नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते चर्को महँगीका विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ। पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै बुधवार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले उक्त जानकारी दिए। उनले चर्को महँगीका विरुद्ध देशव्यापी विरोध गर्ने बताए।

उनले पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको पनि खुलासा गरे। उनले पार्टीले एमसीसी, एनसीएल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणका विरुद्ध संघर्ष गर्ने पनि बताए।

उनले भने, ‘विश्वमा हावी भूमण्डलीकृत पुँजीवादका कारण मानव जातिले दोस्रो विश्वयुद्धपछि सबैभन्दा खराब अवस्था भोग्नु परिरहेको छ। बैकठले पार्टी संगठनमा निर्णय लिँदै जनआधारित पार्टी र जनआधारित नेता कार्यकर्ता भन्ने नीति पारित गरी जनताको सुखदुःखमा पार्टी पुग्ने योजना अघि सारेको छ।’ पार्टीले आगामी दिनमा राष्ट्रिय स्वाधीनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेको छ।

जनताका मौलिक अधिकारका लागि संघर्ष गर्ने र राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्ने पार्टीको माग छ। फागुन ५ गते मिटरब्याज, बैंकको चर्को ब्याजदर र लघुवित्तका विरुद्ध र फागुन १५ गते चर्को महँगीका विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्नेछ।

उनले भने‚ ‘३ बुँदे सहमतिअनुसार एकीकृत जनक्रान्तिका सम्पूर्ण कमरेड मुक्त हुनुपर्नेमा हालसम्म पनि ४० जना कमरेड विभिन्न जेलमा हुनुहुन्छ। राज्यले सहमति गरेअनुसार अविलम्ब बन्दी कमरेडहरू मुक्त गर्नुपर्छ। साथै मुद्दाहरू खारेज गरिनुपर्छ।’

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु