काठमाडौं । जेन-जेड आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको शवयात्रा नगर परिक्रमा गर्दै पशुपति आर्यघाटतर्फ अघि बढेको छ। टिचिङ अस्पतालमा पोष्टमार्टम सम्पन्न गरी शवहरू परिवारको जिम्मा लगाइएपछि महाराजगञ्ज, चाबहिल हुँदै शवयात्रा अगाडि बढाइएको हो।
शवयात्रामा सयौं युवाहरू मोटरसाइकल र जुलुससहित सहभागी छन्। कुल १० जनाको शव र्यालीमार्फत अन्तिम श्रद्धाञ्जली दिइँदैछ, जसमध्ये ६ जनाको शव हेलिकप्टरमार्फत काठमाडौं बाहिर लगिनेछ भने ४ जनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ।
सरकारले आन्दोलनमा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
यो आन्दोलन हिंसात्मक बन्दा हालसम्म ७२ जनाको मृत्यु भइसकेको छ। मृतकमध्ये अधिकांश गोली लागेका थिए भने केही व्यक्ति जलिएको अवस्थामा फेला परेका थिए। –00–


