सौराहा, ७ असार । सौराहा नजिक रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनले आफ्ना उपभोक्ता किसानहरुलाई शुक्रबार वालिनाली क्षतिको राहत रकम वितरण गरेको छ । वन्यजन्तु बस्तीमा प्रवेश गरि वालीनाली नष्ट गरेका ६० जना किसानहरुलाई राहत रकम वितरण गरिएको हो ।
वनको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष जीतु तामाङ,सचिव कृष्ण भट्ट र वालीनाली क्षति राहत वितरण उपसमितिका संयोजक बीरबहादुर तामाङले राहत रकम हस्तान्तरण गरेका थिए । वन्यजन्तुले नष्ट गरेको धान, मकै, बीउ र मसुरोको प्रतिकठ्ठा एक हजार ५०० का दरले राहत रकम वितरण गरिएको वनका अध्यक्ष तामाङले बताए । किसानहरुले एक हजार ५०० देखि ८ हजार सम्म राहत रकम पाएका छन् ।
पर्यापर्यटन मार्फत आम्दानी गर्दैै आएको सो सामुदायिक वनले संरक्षण, उपभोक्ताको गरिबी निवारण र मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि बस्ती र वनको सिमानामा कङ्क्रिट वाल निर्माण, बालीनाली राहत, पशुचौपायाको बिमा, सुत्केरी भत्ता, मृत्यु हुँदा काजक्रिया खर्च, उपचार खर्च, शिक्षामा वार्षिक १० लाख लगानी र गरिबी निवारणका लागि सीपमूलक तालिम दिँदै आएको अध्यक्ष तामाङले बताए ।
सो सामुदायिक वन गैँडा, बाघ, भालु, चितुवा, मृग प्रजाति, घडियाल र मगर गोहीको मुख्य बासस्थान हो । सौराहामा आउने अधिकांश पर्यटक सो वनमा हात्ती सफारी र डुङ्गा सयर गरेर रमाउने गरेका छन् ।—00–


