फाल्गुन २९ संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा जग्गा जालसाजी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायव सुब्बासहित सात जना पक्राउ परेका छन्।
भोटखोला गाउँपालिका-४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तको नाममा पास गरेको खुलेको हो। वडा अध्यक्ष भोटे, मालपोत कार्यालयका कर्मचारीसहित ७ जनाको टोलीले मृतक तामाङको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको अभियोगमा पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा वडाध्यक्ष भोटेसहित सोही वडाका सुरेन्द्र तामाङ, कल्पना भोटे, ङिमालाजुङ भोटे, खाँदबारी–१ का हाल मालपोल कार्यालय खाँदबारीमा कार्यरत महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका- ४ घर भई खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपलिकाका पासाङ शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएपी) लालध्वज सुवेदीले बताए। पक्राउ परेका वडाध्यक्ष एमालेबाट निर्वाचित भएका थिए।
दलबहादुरको मृत्युपछि उनको जग्गाको हकवाला एकमात्र सन्तान बिममाया तामाङ हुन्। उक्त जग्गा ७५ वर्षीया छोरी विममायाको नाममा यही फागुन २ मा नामसारी भएको खुलेको छ। तर, विममायालाई आफ्नो नाममा जग्गा नामसारी भएको कुनै जानकारी दिएन। प्रहरीका अनुसार मृतकको नाममा रहेको जग्गा नामसारी गर्न आवश्यक पर्ने कागजातसहित नागरिकताको प्रतिलिपि, घरबाटो सिफरिस तथा जग्गा नामसारी गर्ने सिफारिससमेत वडा अध्यक्ष भोटेले खाँदबारीमै बसेर तयार पारेका थिए।
प्रहरीका अनुसार उनीहरुले अपर अरुण जलविद्युत आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाईफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ। मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा एक लाख दिएर पास गरेको अनुसन्धानले देखाएको छ। २७५ कित्ताको जग्गा पासाङ शेर्पाको एकल नाममा र २८० कित्ताको जग्गा कल्पना भोटे र ङिमालाजुङ भोटेको नाममा संयुक्त रजिस्ट्रेसन पास गरिएको छ। बिक्री भएको दुई कित्तामध्ये २७५ नम्बरको जग्गा फागुन १६ गते पासाङ शेर्पाको नामबाट कविता पराजुलीको नाममा रजिस्ट्रेसन पास गरिएको छ।
उक्त जग्गा नामसारी गर्न वडा अध्यक्षले मालपोत कार्यालय खाँदबारीका कर्मचारी महेन्द्रकुमार पराजुलीको सहयोग लिएको पाइयो। योजना अनुसार बिममायाको नाममा पास गरिएको जग्गामध्ये कित्ता नं २८० (११७३५ वर्गमिटर) को जग्गा वडा अध्यक्ष किन्साङका तर्फबाट कल्पना भोटे र सुरेन्द्रको तर्फबाट उनकै श्रीमती ङिमालाजुङ भोटेको नाममा संयुक्त रजिष्ट्रसन पास गरेको खुलेको छ। बिममायाको नाममा रहेको २७५ (१८३० वर्गमिटर) को जग्गा पासाङ शेर्पाको नाममा पास गरेका छन्।
पासाङको नाममा रहेको सोही जग्गा पुनः कर्मचारी पराजुलीको श्रीमतीको नाममा फागुन १६ मा नामसारी भएको प्रहरीले जनाएको छ। वडा अध्यक्षले जग्गा पास गरिदिएवापत उक्त जग्गा आफूलाई दिएको पराजुलीले बयानमा बताएको प्रहरीले जनाएको छ। कागजात लेखापढी गरेवापत अनिषलाई वडा अध्यक्षले नौ हजार रुपैयाँ दिएका थिए। कल्पनाको हकमा रजिष्ट्रेसन पास लेखापढी व्यवसायी अनिषको नाममा वारेस पास भएको खुलेको छ।
पक्राउ परेकाहरुलाई ठगी र कीर्ते मुद्दा चलाउने प्रहरीले जनाएको छ।