झाडीबाट ‘जैविक’ क्रान्ति: चितवनका किसानका लागि थपिँदै आशा

सन्तकुमार चौधरी –

चितवन । नेपालका खेतबारीमा रासायनिक विषादीको बढ्दो प्रयोगले माटोको स्वास्थ्य दिनानुदिन बिग्रँदो छ। “विषादी विना उत्पादन नै हुँदैन” भन्ने मानसिकताले किसानलाई जकडेका बेला चितवनको कालिका नगरपालिकाबाट एउटा सुखद र प्रेरणादायी खबर छ।

कालिका नगरपालिका वडा नं. २ स्थित थाङखोला सामुदायिक वन उपभोक्ता समूहले वनभित्र खेर गइरहेका वनस्पति र झाडीबाट जैविक मल उत्पादन सुरु गरेको छ। यो अभियानले एकातिर माटोको उर्वराशक्ति जोगाउने आशा जगाएको छ भने अर्कोतर्फ वन संरक्षणमा नयाँ आयाम थपेको छ।

सामुदायिक वनले वृक्षारोपणका क्रममा सफाइ गर्दा निस्कने पातपतिङ्गर र अनावश्यक झाडीलाई कच्चा पदार्थको रूपमा प्रयोग गरेको छ। हाल परीक्षण स्वरूप वनको करिब साढे २८ हेक्टर क्षेत्रफलबाट संकलन गरिएको वनस्पतिबाट मल बनाउने काम भइरहेको छ।

वन समूहका अध्यक्ष रामबहादुर कार्कीका अनुसार यो कार्यका बहुआयामी फाइदा छन्। “हामीले वातावरण संरक्षण, जैविक विविधताको प्रवद्र्धन र माटोको शक्ति फर्काउने उद्देश्यले यो काम सुरु गरेका हौं,” कार्की भन्नुहुन्छ, “यसबाट प्राकृतिक स्रोतको उपयोग भई ‘हरित रोजगार’ समेत सिर्जना भएको छ।”

जंगलमा काटिएर त्यसै छाडिने निउरो, सिस्नु र असुरो जस्ता वनस्पतिहरु सुकेर बस्दा गर्मी महिनामा डढेलोको मुख्य कारण बन्ने गर्दथे। तर, अहिले तिनै वनस्पतिलाई संकलन गरी मल बनाउन थालेपछि डढेलो नियन्त्रणमा समेत ठूलो सघाउ पुग्ने अपेक्षा गरिएको छ।

यो सिर्जनशील कार्यका लागि डिभिजन वन कार्यालय, चितवनले ४ लाख ७१ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। यस्तै, सामाजिक संस्था ‘सहमति’ ले पनि प्रविधिक र भौतिक सहयोग पुर्‍याउँदै आएको छ। मल बनाउन आवश्यक हाते ट्याक्टर, वनस्पति काट्ने मेसिन र व्यवस्थापनका लागि जस्ताको टहरो निर्माणमा संस्थाले सहजीकरण गरेको हो।

उत्पादित मल हेर्दा गुणस्तरीय देखिए पनि प्राविधिक रूपमा किसानको खेतसम्म पुर्‍याउनुअघि एउटा चुनौती बाँकी नै छ— ल्याब परीक्षण।

मलमा हुनुपर्ने आवश्यक पोषक तत्व र सूक्ष्म जीवाणुहरूको मात्रा कति छ भन्ने प्रमाणित गर्न ल्याब टेस्ट अनिवार्य हुन्छ। तर, चितवनमै यस्तो परीक्षण गर्ने प्रयोगशालाको जानकारी नहुँदा केही अलमल देखिएको छ। अध्यक्ष कार्की भन्नुहुन्छ, “हामी अहिले ल्याबको खोजीमा छौँ। परीक्षणको नतिजा आउनासाथ सामुदायिक वनको आफ्नै ‘लोगो’ सहित सहुलियत मूल्यमा बोरामा राखेर मल बिक्री सुरु गर्नेछौँ।”

यो अभियान अहिले सिकाइकै चरणमा छ। ढुवानीका लागि ट्याक्टर जस्ता उपकरणको अभाव भए पनि वन समूह उत्साही छ। “स्थानीय सरकारले पनि यो योजनालाई सहयोग र प्रोत्साहन गरिदिए यसलाई अझै ठूलो स्तरमा लैजान सकिन्थ्यो,” कार्कीले भने ।

यदि यो परीक्षण सफल भयो र ल्याब रिपोर्ट सकारात्मक आयो भने, कालिका नगरपालिकाका किसानले आफ्नै गाउँको वनबाट उत्पादित सस्तो र स्वस्थकर जैविक मल पाउनेछन्। यसले ‘अर्गानिक’ खेतीतर्फ लाग्न चाहने किसानका लागि ठूलो उर्जा प्रदान गर्ने निश्चित छ।

—00—

Share:

सम्बन्धित समाचारहरु