चितवन,१८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलको कदम र भारतले अखण्ड भारतका नाममा नेपाली भूमि समेटेर संसद् भवनमा नक्सा राखेको विरोधमा युवा संघ चितवनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
संघले आज चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रपतिको कदम तथा भारतको मिचाहा प्रवृत्तिप्रति विरोध जनाएको हो ।
घका चितवन संयोजक शंकर अधिकारी नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापन पत्रमा भनिएको छ, ‘राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको नागरिकता विधेयक फिर्ता लिन र भारत सरकारले अखण्ड भारतका नाममा समावेश गरेको हाम्रो भूमिलाई सच्याउन पहल गर्नका लागि हामी नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।’ अन्यथा सरकारले दिनप्रतिदिन यसरीनै राष्ट्रहीत र संविधान विरोधी क्रियाकलाप गर्दै लोकतन्त्रकै उपहास गर्ने कार्य गर्दै गए राष्ट्र र राष्ट्रियता बचाउन ज्यानको बाजी थापेर चरणबद्ध आन्दोलनको आँधीबेहरी सिर्जना गर्न राष्ट्रिय युवा संघ नेपाल बाध्य हुने संघले चेतावनी दिएको छ ।
युवा संघले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले सो पत्र आजै प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । युवासंघले गर्ने शान्तिपूर्ण हरेक कार्यक्रममा प्रशासनको सहयोग रहनेसमेत उनले बताए । ‘संविधानमा टेकेर गर्ने युवा संघको हरेक शान्तिपूर्ण विरोधमा प्रशासनको समर्थन रहन्छ’ उनले भने, ‘त्यस्ता कार्यक्रमको सुरक्षा प्रशासनले गर्छ ।–००–


