काठमाडौं, २७ बैशाख । आउँदो मनसुन अवधिमा सरदरभन्दा कम वर्षा हुने देखिएको छ। यसको सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको आकलन जल तथा मौसम विज्ञान विभागले गरेको छ। यसको असर जलस्रोेत, ऊर्जा, कृषिलगायत क्षेत्रमा देखिन सक्ने विज्ञ बताउँछन्। सम्बन्धित निकायहरूले पूर्वतयारी अपनाउनुपर्ने सुझाव उनीहरूले दिएका छन्।
जेठ १८ देखि असोज १३ सम्म चार महिना अवधिलाई मनसुन भनिन्छ। त्यसबेला औसतभन्दा कम वर्षा हुँदा तापक्रम वृद्धि हुने आकलन गरिएको छ। तराईका जिल्लामा गत अप्रिलमा ४२ डिग्री तापक्रम पुग्दा हिटवेभ सामना गर्नुपरेको थियो। आउँदो मनसुनमा पनि हिटवेभको सामना गर्नुपर्ने हुन सक्ने आकलन विज्ञले गरेका छन्। तर, ठाउँअनुसार फरक–फरक संभावना देखिएका छन्।
वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार औसतभन्दा कम वर्षा हुँदा मोटामोटी सबै क्षेत्रमा असर गरे पनि कृषिमा धेरै प्रभाव पर्छ। यस आकलनले कम पानीमा कस्ता धान लगाउने अथवा के गर्ने भन्ने विषयमा योजना बनाउन सहयोग हुने उनको भनाइ छ।
‘प्रत्येक दिन होइन चार महिनामा समग्र वर्षा कम हुन्छ भन्ने हो। १५ दिन मज्जाले पानी परेर तीन महिना खडेरी हुन सक्छ’, पौडेलले भने, ‘एक महिना पानी परेर तीन महिना सुक्खा हुन सक्छ।’ पानी कम पर्छ भनेर चुप लागेर बस्ने अवस्था नरहेको उनले बताए।
विश्व मौसम संगठन, अन्तर्राष्ट्रिय मौसममा अनुसन्धान गर्ने वैज्ञानिकले निकालेको आकलनअनुसार नेपालले पनि आकलन गरेको जनाइएको छ। ‘कृषिलगायत विभिन्न क्षेत्र, नीति निर्माणमा काम लागोस् भन्ने हो। मनसुनलाई नजिकबाट नियालेर अपडेट पनि गर्ने छौं। अर्को महिना पुनः विज्ञप्ति निकाल्छौं’, पौडेलले भने।
उनका अनुसार मनसुनमा सरदरमा १५ सय मिलिमिटर पानी मुलुकभरि पर्छ। तर, प्रत्येक जिल्लाअनुसार सरदर निकालिन्छ। उदाहरणका लागि सयलाई औसत वर्षा मान्दा ९० अथवा १ सय १० भए औसत नै मानिने उनको भनाइ छ। तर, ९० भन्दा कम भए औसतभन्दा कम र १ सय १० भन्दा बढी भएको औसतभन्दा बढी मानिन्छ।
वर्षा कम हुँदा, बादल कम लाग्छ। बादल कम भएपछि अधिकतम तापक्रम बढ्छ। मनसुनमा सामान्य वर्षा हुँदा जति तापक्रम हुन्छ। वर्षा नहुँदा जमिन बढी तातिने हुन्छ। त्यसले हिटवेभले समस्या हुन सक्छ।
विभागका अनुसार कर्णाली प्रदेशको प्रायजसो भूभाग, गण्डकीको धेरैजसो भूभाग, सुदूरपश्चिमको मध्य र उत्तरका केही भूभाग, लुम्बिनीका मध्य तथा पश्चिमी भूभाग, कोसीका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने संभावना ४५ देखि ५५ प्रतिशत छ। कोसीको पश्चिमी भूभाग, बागमतीका धेरैजसो ठाउँ, लुम्बिनीका केही भाग र सुदूरपश्चिमको कञ्चनपुर, कैलाली, बैतडी, बझाङमा सरदरभन्दा थोरै वर्षाको संभावना ३५ देखि ४५ प्रतिशत छ ।
तापक्रम पनि सरदरभन्दा धेरै हुने आकलन छ। सुदूरपश्चिमको पूर्वी, दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको पूर्वी, पश्चिमी तथा उत्तरी भाग, गण्डकीको दक्षिणी तथा मध्यभूभाग, बागमतीको मध्य तथा दक्षिणी भूभाग र मधेस प्रदेशको पश्चिमी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने संभावना ४५ देखि ५५ संभावना रहेको छ। अन्य भूभागमा ३५ देखि ४५ प्रतिशत छ। –00—


