काठमाडौं — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले विशेष परिस्थिति बाहेक अवरुद्ध सडकहरू ६ घण्टाभित्र खुलाउने लक्ष्यसहित काम अगाडि बढाइएको बताएका छन्।
शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकमा सचिव शर्माले चाडपर्वलाई लक्षित गरी सडक विभाग सक्रिय रहेको जानकारी दिए। “हामीले सुरु गर्न पायौं भने अहिले हाम्रो टोली पुगिसकेको छ। डिजी नै त्यहीँ हुनुहुन्छ, हिजोपनि त्यही हुनुहुन्थ्यो। अब सफा गर्न पाएपछि ४ घण्टामा बाटो खुल्छ,” उनले बताए।
मौसमका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भइरहे पनि मन्त्रालय र सडक विभागको टोली सतर्क अवस्थामा रहेको उनले स्पष्ट पारे। विशेषगरी पृथ्वी राजमार्ग र मुग्लिन खण्डको तुइनखोला क्षेत्रमा रातिदेखि काम रोकिएको उल्लेख गर्दै उनले पहिरो नरोकिन्जेल जोखिम मोलेर काम गर्न नसकिने बताए।
उनका अनुसार सडक विभागले आवश्यक उपकरणहरू यस्तो किसिमले राखिएको छ कि घटना भएको आधा घण्टादेखि एक घण्टाभित्रै आवश्यक मेसिन घटनास्थलमा पुग्न सक्छन्। “काम थालेको ४ देखि ६ घण्टाभित्र सफा गर्ने, विशेष परिस्थिति बाहेक” भन्ने लक्ष्यसहित काम भइरहेको उनले बताए।
बैठकमा मन्त्री कुलमान घिसिङले चाडपर्वमा यात्रुहरूलाई सहज बनाउन आवश्यक आन्तरिक छलफलमार्फत समस्या समाधान गरिने धारणा व्यक्त गरे।
बैठकमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर र वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले वर्तमान अवस्था जटिल रहेको भन्दै रात्रि बसहरूलाई दिउँसो चलाउन अनुमति दिनुपर्ने सुझाव दिएका थिए।
उक्त बैठकमा सडक विभाग, गृह मन्त्रालय, नेपाल यातायात व्यवसायी महासंघलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।—00–


