खैरहनी ,१ बैशाख । समाजसेवी शेरमान तामाङका लागि आवाश निर्माणगर्ने अभियानले तीब्रता पाइरहेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. ९ मा समाजसेवी शेरमान तामाङका लागि जग्गा सहित आवाश निर्माण भइरहेको छ । पर्सा खानेपानी तथा सरफाई उपभोक्ता संस्थाका पूर्व अध्यक्ष रहनुभएका तामाङको परिवार अहिले खानेपानी संस्थाकै पालेघरमा आश्रय लिएर बस्नुभएको छ ।
उहाँको लागि स्थानीय समाजसेवी मुरलीप्रसाद गजुरेल लगायतका सामाजिक अभियन्ताहरुको पहलमा पौने १३ धुर जग्गामा पक्की घर बनाउन लागिएको हो । शेरमान तामाङकै लागि भनेर १८ लाख ३९ हजार ५ सय रुपैयाँमा पौने १३ धुर जग्गा किनेर घर बनाउन सुरु गरिएको हो । १२ वटा पिल्लर हालेर ६ कोठाको सुविधायुक्त घर बनाउनेगरी निर्माणको काम अघि बढेको छ । तल्लो तहको पिलर ढलान सकेर गारो लगाइ डिपिसीपुर्ने सम्मको काम भइरहेको अभियन्ता मुरलीप्रसाद गजुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो घर निर्माण सम्पन्नगर्न झण्डै ३० देखि ३५ लाख रुपैयाँ खर्चहुनेछ । ट्वाईलेट, बाथरुम, किचन सहित घर बन्नेछ ।
समाजका लागि महत्वपूर्ण योगदान दिनुभएकाले उहाँको सम्मानका लागि जग्गा सहित घर बनाएर हस्तान्तरणगर्ने योजना अघि बढेको खैरहनी वडा नं. ५ का टिकाराम कुँवरले बताउनुभयो । उहाँपनि यो अभियानमा जोडिनुभएको छ । आवास निर्माणका लागि कुनैपनि समिति बनेको छैन । न त यो अभियानमा यतिजना अभियन्ता भनेर निक्यौंल गरिएको छ ।
अभियानमा सहयोगगर्ने सबैजना आवास निर्माणका हकदार हुने र सबैको बराबर जिम्मेवारी र दायित्व हुनेगरी निर्माणको काम बढीरहेको खैरहनी वडा नं. ८ का हरि पुनले बताउनुभयो । चियापसलमा गफिने क्रममा शेरमान तामाङको विषयमा कुरा उड्यो । समाजसेवा गर्दागर्दै सबैकुरा गुमाएका शेरमान दाजु यहाँ छाडेर अन्तै जान लाग्नुभएको खबर सुन्यौं – उहाँले भन्नुभयो । आर्थिक हिसावले सम्पन्न भएर पनि समाजसेवामा लाग्दा आफ्नो ब्यापार व्यवसाय, घर व्यवहार हेर्न समय भएन । उहाँ रितिनुभयो, यति सम्म रितिनुभयो कि उहाँ यो ठाउँ छाडेर अन्तै जान लाग्नुभएको खबरले दुख लाग्यो – पुनले भन्नुभयो , उहाँलाई थोरै सहयोग गर्न सकिन्छ कि भनेर चियापसलमै हामीसाथीहरु बीच छलफल भयो । र यो अभियान थाल्यौं ।
घर बनाउन किनेको जग्गा शेरमान तामाङकै नाउँमा पास गरिएको छ । दशै सम्म घर बनाएर सक्ने योजना छ । घर बनाउनका लागि विभिन्न व्यक्तिहरुवाट नगद तथा जिन्सी सामग्रीहरु स्वतस्फूर्त रुपमा संकलन भइरहेका छन् । कसैले गिट्टी, बालुवा, कसैले रड, सिमेन्ट लगायतका सामग्रीहरु सहयोग दिइरहेका छन् । तर यतिले मात्रै यो अभियान पूर्ण हँुदैन । अहिले ट्रष्ट हालेर घर सम्पन्नगर्ने योजनाका साथ काम भइरहेको छ । यदि यो बीचमा माथिल्लो ढलानका लागि मैले सहयोग गर्छु भन्ने कोही दाता आयो भने ढलान सहितको घर बनाउने योजना रहेको अभियन्ताहरु बताउँछन् ।
यो घर बनाउन स्थानीय तहले प्राविधिक रुपमा सहयोग दिइरहेको छ । वडा नं. ४ का वडा अध्यक्ष बन्धुराम महतोले शेरमान तामाङको घर बनाउन हेक्साभेटर लगायतका मेसिन आवश्यकता अनुसार उपलव्ध गराएर सहयोग गरेको छ । वडाबाट पनि थप केही सहयोगगर्ने तीब्र इच्छा रहेको वडा अध्यक्ष महतोले बताउनुभयो ।
-को हुन शेरमान तामाङ ?
पूर्वी चितवनको खैरहनी नगरपालिका क्षेत्रमा शेरमान तामाङ नौलो होइन, उहाँलाई नचिन्ने सायदै होलान् । उहाँलाई यहाँका स्थानीयले अभिभावकै रुपमा लिनेगरेका छन् । निर्माण क्षेत्रमा उहाँसँग राम्रो ज्ञान छ । नारायणगढको गणेश चलचित्र हल सँगै तत्कालीन जुन फिल्म हल उहाँलेनै निर्माण गर्नुभएको हो । त्यतिबेला उहाँ क्षेत्रपुरमा बस्दै आउनुभएको थियो । पछि खैरहनी क्षेत्रमा आएर बस्न थाल्नुभयो । पर्साको जनज्योती फिल्म हलदेखि पर्साको चौविसकोठी लगायत वरपरका ठूलाठूला संरचनाहरु बनाउन उहाँको योगदान छ ।
आर्थिक हिसावले पनि राम्रोनै मानिएको शेरमान तामाङ ठेक्कापट्टामा अग्रस्थानमा थिए । पछि उहाँले पर्सामै समिल समेत संचालनगर्नुभयो । उहाँको आफ्नै व्यापार व्यवसाय भएपनि सधैजसो समाजसेवामै समय दिँदै जानुभयो । चापाकलकै भरमा रहेको खैरहनीबासीहरुलाई शुद्धपिउनेपानीको व्यवस्थापनका लागि पर्सा खानेपानी तथा सरसफाई संस्थामा जुट्नुभयो । घरघरमा धारा पुर्याउने देखि स्कुल स्कुलमा बालबालिकाहरुको गुणस्तरिय शिक्षाका लागि हिड्नुभयो । यस्तै यस्तै कामले उहाँ पुरै रितिनुभयो । वि.स २००२ सालामा नुवाकोटमा जन्मिनुभएका शेरमान तामाङ १५ वर्षको उमेरमा घर छाडेर चितवन छिर्नुभएको हो ।
चितवन आएका शेरमान सानैदेखि वातावरण र शिक्षा सम्बन्धि चासो र चिन्तालिनेहरुसँग संगत भयो । समाजप्रति केही गर्छुभन्ने भावना अनुसार अघि बढे । नपढेका मान्छेहरुलाई ज्ञान र शीप बाड्दै हिडे । उनले सिकाएका युवाहरु उच्च तहमा पुगेका छन् । सबैले सम्मान पूर्वक परिवार पाल्न सक्ने भएका छन् । खैरहनीका स्कुलहरुमा बालबालिकालाई लक्षित गरेर बालक्लब गठनगर्ने यिनी पहिला व्यक्ति हुन । घर छाडेपछि पहिलो पटक २०६६ साल जन्म स्थल नुवाकोट पुगे । सुर्यगढी गाउँपालिका वडा नं. २ मा जन्मिएका हुन शेरमान । अहिले वडा न.. १ मा पर्छ । उहाँले पैतृक सम्पत्ती लिनुभएन ।
बुबा बाजेको सम्पत्ती भाइहरुको नाममा छ । पहिला आउनु भनेर बोलाउथे । जब उहाँ गाउँफर्किनुभयो त्यसपछि त्यो विषयमा कसैले चासो दिएनन । स्थानीयले गुठीमा बस्न भनेका थिए । बस्न, भोगचलनगर्न पाउने भएपनि बैंकिङ कारोबारगर्न नपाउनेगरी उतै बस्न भनेका थिए । तर शेरमान तामाङलाई यता गरिरहेको समाजसेवा र विकासको हुटहुटीले छाडेन । फेरि फर्किनुभयो । अहिले पर्सा खानेपानी तथा सरसफाई संस्थाको पाले घरघरमा बस्दै आउनुभएको छ । खानेपानी संस्थाले उहाँको कामको मूल्यांकनगर्दै छोरा, बुहारीलाई जागिर दिएका छन् । आफुले फलफुल लगाएर बस्नुभएको छ ।
– अहिले के भन्छन शेरमान तामाङ ? ( उहाँकै शैलीमा )
यो घर बनाउन आर्थिक, भौतिक रुपमा सहयोगगर्नुहुने सबैलाई धन्यवाद । २ सालमा जन्मिएको म । १५ सालमा घर छाडेर हिडे । अहिले सम्म पैतृक सम्पति लिएको छैन मैले । समाजलाई केहीगर्छु भन्ने भावना ममा आयो । म त्यहिँ अनुसार अघि बढे । छोरा बुहारीलाई खानेपानीमै काम दिएका छन् । म बसेको ठाउँमा फलफुल लगाएकोछु ।
मानव भएर जन्मिएपछि आर्थिक, समाजिक, प्राविधिक र राजनीतिक विषयमा ध्यान दिनुपर्छ । त्यसकालागि ज्ञान, शीप र योग्यता आवश्यक पर्छ । मानवपूँजी, भौतिकपँुजीको अवधारणाले सधै सताइरहेको छ । नपढेका मान्छेहरुलाई ज्ञानशीप बाड्न खोजे । म जुन स्थितीमिा पुगेको छु, म खुशी छु । मैले सिकाएका विद्यार्थीहरु उच्च तहमा पुगेका छन् । आफ्नो परिवारलाई सम्मानपूर्वक पाल्न सफल भएका छन । म पनि खुशी छु । मेरो परिवार पनि यसैमा खुशी छन् । साथीहरुले यसैको मूल्यांकन गरेर यहाँ सम्म ल्याएका छन् ।
समाजसेवा राष्ट्र र देशका लागि गर्ने हो । देश भनकै जनताहरु हुन । जनताका लागि कामगर्ने हो भने समय तालिका बनाएर अगाडी बढ्नुपर्छ । समाजका लागि आधा घण्टाबढी काम गर भन्छ म । के कालागि जन्मिएको मान्छे, खान र लाउनका लागि मात्रै त होइन होला । राज्य र समाजका लागि कुनै न कुनै योगदान दिन सक्नुपर्छ । अहिले समय बलवान छ । समय खेर फाल्नुहुँदैन भन्छु म।
मेरो यो यात्रामा परिवारले कहिलै अवरोध गरेनन । धेरैथोरै ऋण लागेको छ । छोरा बुहारी न आत्तिनु हामी तिर्ने भएका छौं भन्छन । छोरा बुहारी एउटा ट्रष्ट बनाएर अगाढी बढ्छौं भन्छन् ।
मैले कल्पनै गरेको थिइन । भित्रभित्रै साथीहरुले आर्थिक संकलन गरेका रहेछन् । ८ लाख संकलन गरेपछि मात्रै मलाई जानकारी दिए । मलाई यहि ठाउँमा दिनु भन्ने कुरा भएन । तर राजमार्गदेखि उत्तरतिर भइदिए राम्रो हुन्थ्यो भनेको थिए । किन कि यो ठाउँमा मैले धेरै काम गरेको छु । यहाँ सबैलाई प्राय चिन्छु पनि ।
एउटाकुरा मलाई मन परेको छ । मरेपछिको सम्मान भन्दा ज्यूदाहुँदाखेरी नै दिएको सम्मानले महत्व राख्छ यो कुरा मन परेकोछ । उनले पाएको सम्मान त जिउँदो हुँदाखेरी उसले देख्ने भो नि । यो नयाँ सुरुवात हो । यो चिजकुनैपनि दिनमा लागेको लगत बराबर टष्टको नाउँमा हस्तान्तरण गर्दिने भन्ने भाछ । म जस्तै अर्को पनि मान्छे होलान । अहिलेको समयमा थलो परेको आमा बाहरुलाई स्याहार सुसारगर्ने मान्छे भएन। खानदिने मान्छे छन । औषधी दिने छन्, तर बुढेकालमा नुहाइदिने,, कपाल कोरदिने, छोरामान्छेको दाह्री काटदिने मान्छे छैन ।
यो कोष बनाएर केही रकम जम्मा गरिदिने हो भने त्यो बाट यस्तै दिनदुखीहरुको निम्ती कामगर्ने सोच भइसकेको छ । एउटा कोष बनाएर कोषको व्याजबाट खर्चगर्नेगरी यस्ता खालका कामगर्ने मेरो परिवारमा सोच भइसकेको छ । म शेष पछि यहाँ भएका लगानी बेचविखचन नगरी इतिहास बनाएर राख्ने यदि त्यसो भएन भने त्यस्तै संस्था गठन गरेर त्यो संस्थालाई हस्तान्रण गर्ने र एउटा कोष बनाउने सोच छ । भोली करौडौं रुपैयाँ कोषमा जम्मा हुन सक्छ । हस्तान्तरण गरेको दिन मेरोपरिवारले एउटा प्रतिवद्धता सहित केही विषय सार्वजनिक गर्नेछौं ।–
\ 

–00–


