रौतहटमा नदीमा डुबेर बेपत्ता भएका दुई बालबालिकाको शव फेला, एक अझै हराइन्

रौतहट, २७ साउन । रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ भने एक बालिका अझै हराइरहेकी छन्।

मंगलबार दिउँसो नदीमा नुहाउन गएका एक बालक र दुई बालिका डुबेर बेपत्ता भएका थिए। खोजीका क्रममा देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहम्मद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार दुवै बालबालिकाको शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। घटनामा बेपत्ता भएकी अर्की बालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार फेला परेका शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।

Share:

सम्बन्धित समाचारहरु