चितवन, ८ असार । चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै आएका एक पुरुषलाई सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोस्ट पुलचोकबाट खटिएको टोलीले उक्त उद्धार गरेको हो। सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोले लामाको कमाण्डमा खटिएको टोलीले नदीमा बग्दै गरेका करिब ४० देखि ५० वर्ष उमेरका पुरुषलाई जिउँदै उद्धार गरेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
उद्धार गरिएका ती पुरुषको पहिचान खुल्न सकेको छैन। उद्धारपश्चात उनलाई तत्कालै भरतपुर सरकारी अस्पताल चितवनमा उपचारका लागि पठाइएको छ। डीएसपी थापाका अनुसार अहिले ती व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ। सशस्त्र प्रहरीको सक्रियता र तत्काल उद्धार प्रयासका कारण आज एक जीवन बचाउन सफल भएको स्थानीयले बताएका छन्।
–00–


