कालिका । चितवनको पदमपुरमा उत्पादित सयपत्री र मखमली फूलका माला हङकङ र दुबई निर्यात गरिएको छ । कालिका नगरपालिका–पदमपुरका गोविन्द बाँस्तोलाको परिवारले बिहीबार मात्रै करिब सात लाख रुपैयाँ मूल्यबराबरका फूलमाला विदेश पठाएको हो । कोरोना महामारीका बेला पाँच कठ्ठा जमिनबाट सुरु गरिएको फूलखेती अहिले १० बिघामा विस्तार भएको छ । बाँस्तोला परिवारले फूलखेतीबाट वार्षिक ७० देखि ८० लाख रुपैयाँसम्मको कारोबार गर्दै आएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा हङकङका लागि करिब पाँच लाख र दुबईका लागि दुई लाख रुपैयाँ मूल्यबराबरका सयपत्री र मखमली फूलका माला पठाइएको बाँस्तोलाले बताए ।
‘विदेशमा पनि नेपालीहरूले नै प्रयोग गर्ने हो । यहाँबाट लगेको फूल तिहारको दिनसम्म बिक्री गर्छन्’, उनले भने ।

सात वर्षअघि रोजगारी गुमेपछि घरमै थन्किएका बेला बाँस्तोला परिवारले जोखिम मोलेर फूलखेती सुरु गरेको थियो । सुरुमा तीन जनाको सहकार्यमा पाँच कठ्ठा जमिनबाट थालिएको खेती अहिले परिवारका चार दाजुभाइ मिलेर सञ्चालन गरिरहेका छन् । समयसँगै खेती विस्तार गर्दै १० बिघा क्षेत्रफलमा पुर्याएका उनीहरूले अहिले फूलखेतीलाई आम्दानीको मुख्य आधार बनाएका छन् ।
‘सुरुमा सहकार्य गरेका साथीहरू वातावरण सहज भएपछि आआफ्नै कार्यक्षेत्र फर्किनुभयो, अहिले हामी परिवारका चार दाजुभाइ भएर सम्हालिरहेका छौँ’, बाँस्तोलाले भने, ‘अहिलेसम्ममा २०८० सालबाहेक सबै वर्ष राम्रै भइरहेको छ ।’
यस वर्ष तिहारलाई लक्षित गरेर पाँच बिघा क्षेत्रफलमा फूलखेती गरिएको छ । यसबाट करिब ३० हजार माला उत्पादन गर्ने लक्ष्य राखिएको छ । तिहारमा फूलको माग उच्च हुने भएकाले करिब २५ लाख रुपैयाँ आम्दानी गर्ने अपेक्षा गरिएको बाँस्तोलाले बताए । वर्षभरिमा भने ७० देखि ८० लाख रुपैयाँसम्मको कारोबार हुने उनको भनाइ छ ।

फूलखेतीले बाँस्तोला परिवारको आम्दानी मात्रै बढाएको छैन, स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेको छ । तिहारका बेला २० देखि २५ जनासम्मलाई रोजगारी दिँदै आएको परिवारले वर्षभरि पनि फूल उत्पादन र माला बनाउने कामलाई निरन्तरता दिँदै आएको छ ।
चितवनमा उत्पादन भएको फूलको बजार पनि फराकिलो छ । यहाँ उत्पादित फूलमध्ये करिब ४० प्रतिशत चितवनमै खपत हुने र बाँकी काठमाडौँ, पोखरा, बुटवल, धनगढी, बागलुङलगायतका जिल्लामा पुग्ने गरेको बाँस्तोलाको अनुभव छ । ‘चितवनमा ४० प्रतिशतजति फूल खपत हुन्छ, बाँकी सबै बाहिरी जिल्लामै जान्छ’, उनले भने ।
फूलखेतीमा आम्दानी राम्रो भए पनि चुनौती उत्तिकै रहेको बाँस्तोलाले बताए । केही दिनअघि परेको वर्षाले करिब डेढ बिघा जमिनको फूल नष्ट भएको छ । मल, बीउ र सिँचाइको समस्या पनि खेतीका लागि चुनौती बनेको उनको भनाइ छ ।
यद्यपि, स्थानीय सरकारले उपलब्ध गराएको कृषि उपकरण, टनेललगायतका सामग्रीले व्यावसायिक खेतीमा सहजता मिलेको उनले बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाली फूल विदेशी बजारमा पुग्नु सकारात्मक उपलब्धि भएको बताए । चितवनबाटै विदेशी भूमिमा सयपत्रीका माला निर्यात हुनुले स्थानीय किसानलाई थप प्रोत्साहन मिलेको उनको भनाइ छ ।
पढेपछि जागिर नै खानुपर्छ वा विदेश नै जानुपर्छ भन्ने एकाङ्गी सोच राख्नेहरूका लागि फूलखेती राम्रो उदाहरण भएको उल्लेख गर्दै अर्यालले गाउँमै रोजगारी सिर्जना हुनु यसको महत्वपूर्ण उपलब्धि भएको बताए ।
‘एक जना किसानले फूल उत्पादन गर्दै गर्दा स्थानीय महिलाहरूले दैलैमा रोजगारी पाएका छन्, यही हो सबैभन्दा ठूलो कुरा’, उनले भने ।
चितवनका फूल किसानको हितका लागि प्रशासनले प्लास्टिकजन्य फूलको बिक्रीवितरण तथा प्रयोगमा रोक लगाएको पनि अर्यालले बताए । प्रतिबन्धित प्लास्टिकजन्य फूलको बिक्रीवितरण वा प्रयोग भएको पाइएमा प्रशासनले कडा कारबाही गर्ने उनको भनाइ छ ।
पाँच कठ्ठाबाट सुरु भएको बाँस्तोला परिवारको फूलखेती अहिले १० बिघामा फैलिएको छ । गाउँमै रोजगारी सिर्जना गर्दै विदेशसम्म नेपाली फूलको पहुँच विस्तार हुनु पदमपुरको यो व्यवसायको महत्वपूर्ण उपलब्धि बनेको छ ।




