काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्र कमजोर बनाइएको र राष्ट्रिय अस्मिता, स्वाधीनता तथा स्वतन्त्रतामाथि चुनौती थपिएको दाबी गर्दै त्यसको पुनर्प्राप्तिका लागि आन्दोलन आवश्यक रहेको बताएका छन्।
पार्टीको केन्द्रीय कमिटीमा नवमनोनित सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारविरुद्ध सडकमा उत्रिनुपर्ने परिस्थिति बन्दै गएको बताए।
उनले लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न बलजफ्ती दमनको प्रतिवाद गर्नुपर्ने उल्लेख गरे। ओलीले आन्दोलनलाई लुटपाट र आगजनीका रूपमा बुझ्न नहुने स्पष्ट पार्दै संगठित शक्तिबाट असंगठित तथा निःशस्त्र नागरिकमाथि हुने दमनको प्रतिवाद नै आन्दोलन भएको बताए।
अध्यक्ष ओलीले एमालेविरुद्धको घेराबन्दी र षड्यन्त्र अझै जारी रहेको आरोपसमेत लगाए। उनका अनुसार २०७७ सालदेखि नै पार्टी कब्जा गरेर ध्वस्त पार्ने योजना सुरु भएको थियो। त्यसपछि २०७८ सालमा पार्टी विभाजन गर्ने प्रयास भएको र २०७९ को निर्वाचनमा विभिन्न शक्तिहरू एमालेविरुद्ध एकजुट भएको उनको दाबी छ।
सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीका नेता तथा कार्यकर्ताको चरित्र हत्या गर्ने र जनताको नजरमा पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको ओलीले बताए। गत निर्वाचनमा विपक्षीका सबै षड्यन्त्र चिर्न नसक्दा पार्टी केही पछाडि परेको स्वीकार गर्दै उनले आगामी दिनमा त्यस्ता प्रयासलाई सफल हुन नदिन नेता–कार्यकर्तालाई निर्देशन दिए।
समाजवादी आन्दोलन समाप्त पार्ने प्रयास गर्नेहरूलाई ‘मूर्ख’को संज्ञा दिँदै ओलीले कम्युनिस्ट आन्दोलन सत्य, न्याय र मानवतावादमा आधारित रहेको दाबी गरे। नवमनोनित केन्द्रीय सदस्यहरूलाई निर्देशन दिने क्रममा उनले विगतको इतिहास र योगदानको आधारमा मात्रै अब पार्टीमा टिक्न नसकिने बताए। पार्टीलाई थप सशक्त बनाउन वर्तमान परिस्थितिअनुसार सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।


