हाइवे सबैभन्दा जोखिमपूर्ण, दिउँसो १२ देखि साँझ ६ बजेसम्म बढी दुर्घटना; तीव्र गति दुर्घटनाको प्रमुख कारण

बागमती प्रदेशमा एक वर्षमा १,९२४ सवारी दुर्घटना, ३४० जनाको मृत्यु

चितवन, १४ साउन। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को सवारी दुर्घटना विश्लेषणले बागमती प्रदेश (काठमाडौं उपत्यका बाहेक) मा सडक दुर्घटना अझै गम्भीर चुनौतीका रूपमा रहेको देखाएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको तीन वर्षे तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै १ हजार ९२४ वटा सवारी दुर्घटना हुँदा ३४० जनाको मृत्यु भएको छ भने ३ हजार ७६३ जना घाइते भएका छन्।

तथ्यांकअनुसार सबैभन्दा धेरै दुर्घटना राजमार्ग क्षेत्रमा भएका छन्। कुल दुर्घटनामध्ये १ हजार ११४ वटा राजमार्गमा, ५३९ वटा ग्रामीण सडकमा र २७१ वटा शहरी क्षेत्रमा भएका छन्। समयका आधारमा हेर्दा दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सबैभन्दा बढी ७४० वटा दुर्घटना भएका छन्।

दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको प्रहरीले जनाएको छ। गत आर्थिक वर्षमा तीव्र गतिका कारण मात्रै १ हजार ४१ वटा दुर्घटना भएका छन्। त्यसपछि चालकको लापरवाही, मापसे, यात्रुको गल्ती, सडकको अवस्था र ओभरटेक दुर्घटनाका मुख्य कारणका रूपमा देखिएका छन्।

दुर्घटनामा संलग्न चालकमध्ये २५ देखि ४० वर्ष उमेर समूहका चालक सबैभन्दा धेरै रहेका छन्। उनीहरूको संख्या १ हजार ४२९ अर्थात् ५४ प्रतिशत रहेको छ। मृत्यु हुनेमध्ये ७५ प्रतिशत पुरुष रहेका छन् भने २५ वर्षभन्दा माथिका व्यक्तिको मृत्यु संख्या सबैभन्दा बढी देखिएको छ।

पत्रकार सम्मेलनमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि गरिएको कारबाहीको विवरण पनि सार्वजनिक गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा ९० हजार ९८३ सवारीसाधनलाई कारबाही गरी ९ करोड ३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका प्रमुख दिलनारायण पाण्डेले जानकारी दिनुभयो ।

सडक सुरक्षा सुधारका लागि ट्राफिक प्रहरीले ट्राफिक सचेतना कार्यक्रम, डिजिटल E-Challan, Traffic Violation Record System (TVRS), स्वचालित नम्बर प्लेट पहिचान (ANPR) क्यामेरा, ब्रेथलाइजर, स्पिड गन, ब्ल्याक स्पट म्यापिङ तथा चितवनका ६ स्थानमा ट्राफिक लाइट जडानको कामलाई पनि प्राथमिकताका साथ अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

Share:

सम्बन्धित समाचारहरु