चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिक्षा क्षेत्रमा भरतपुरले राम्रै फड्को मारेको दाबी गर्नुभएको छ । नेपाल प्रहरी स्कुल भरतपर १४ शान्तिपुरले चौथो वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले अध्ययनकै लागि काठमाडौँ जाने परिपाटी लगभग अन्तत्य हुन लागेको उल्लेख गर्नुभयो ।
भरतपुर महानगरपालिका विगत ५ वर्षमा सामुदायिक विद्यालयमा ८ हजार विद्यार्थी थप गर्न सफल भएको भन्दै मेयर दाहालले यो क्रम बढ्दै जाने पनि प्रष्ट पार्नुभयो । पाँच वर्षअघि भरतपुरको सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दो क्रममा थियो भने अहिले वृद्धि हुँदै जानु भरतपुरका लागि सुखद विषय भएको बताउनुभयो । भरतपुरले सन्तुलित विकासको मोडल अनुसार शिक्षा क्षेत्रको विकासका लागि विभिन्न शैक्षिक सुधारको कार्यक्रमलाई निरन्तरता दिदै आईरहेको मेयर दाहालले बताउनुभयो ।
‘प्रहरी स्कुलमा आर्कषण बढ्दो छ, उहाँले भन्नुभयो, ‘सुरुवातमा भरतपुरका मात्र पढ्नु हुन्थ्यो । अहिले जिल्लाभरकै पढ्नु हुन्छ । अब छिमेकी जिल्लाबाट पनि आउने क्रम सुरु हुन्छ ।यो भरतपुर शिक्षाको हब हो भन्ने प्रमाण हो ।’
भरतपुरमा दुई ठूला मेडिकल कलेज, रामपुर कृषि क्याम्पस, त्रिभुवन विश्वविद्यालयको आंगिक ईन्जिनियरिङ क्याम्पस लयागतका शैक्षिक संस्थाले भरतपुर थप गरिमा बढाएको प्रमुख दाहालको भनाई थियो । प्रहरी विद्यालयको विकासमा महानगरपालिका सधै सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै वागमती प्रदेशका प्रहरी प्रमुख एवम् विद्यालयका संरक्षक दिपक थापाले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि ३ तहकै सरकार र प्रहरी प्रधान कार्यालयसँग समवन्य अगाडि बढाउने बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै विद्यालयका प्रधानध्यापक मुकुन्द गिरीले विद्यालयले विद्यार्थीको उच्च आत्मबल, सिर्जनशिल र प्रायोगात्मक शिक्षालाई जोड दिने गरेको उल्लेख गर्नुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुबेर खापुङ्को अध्यक्षतामा भएको थियो ।
यसैबीच भतरपुर महागनरपालिका प्रमुख दाहालले विद्यालय परिसरभित्र निर्माण हुन लागेको दुई वटा छात्राबास भवनको शिलान्यास गर्नुभएको छ । करिब २ विघा क्षेत्रफलमा फैलिएको विद्यालयले कक्षा ८ सम्म अध्ययापन गराईरहेको छ । भने विद्यालयमा ४४२ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । भतपुरको प्रहरी स्कुलसहित देशभर ९ वटा प्रहरी विद्यालय रहेका छन् ।–00–