धनगढी । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ।
मृतक धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार साँझ चौधरीले आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। घटनापछि आफन्तले तत्काल उद्धार गरी उनलाई सेती प्रादेशिक अस्पताल पुर्याएका थिए। चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो।
गम्भीर अवस्थाका कारण उनलाई थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल रिफर गरिएको थियो। तर, आफन्तले उनलाई थप उपचारका लागि काठमाडौं लैजाने निर्णय गरेका थिए। काठमाडौं लैजाने क्रममा सोमबार बिहान करिब ७ बजेतिर धादिङ पुगेपछि बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिए।
प्रहरीले शव कैलाली ल्याउने प्रक्रिया अघि बढाएको जनाएको छ। साथै, घटनाको कारण खुल्न बाँकी रहेकाले यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।–00–


