चितवनमा माओवादी कार्यकर्ताहरू ‘प्रगतिशील राष्ट्रिय अभियान’मा समाहित

चितवन । नेकपा माओवादी केन्द्रका विभिन्न तहका कार्यकर्ताहरू ‘प्रगतिशील राष्ट्रिय अभियान’मा समाहित भएको घोषणा गरेका छन्। आइतबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले कम्युनिष्ट एकतामा सहभागी नभई देश, जनता र युगबोधअनुरूप नयाँ ढंगले राजनीतिक पुनर्गठन गर्ने उद्देश्यले अभियानमा लागेको जानकारी दिए।

चितवनका संयोजक दीपक शाहीले सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र व्यक्तिवादी निरंकुश केन्द्रियता अन्त्य गर्दै जनताद्वारा जनतामाथि नै सञ्चालन हुने विशुद्ध जनवादी संरचना तथा शासन प्रणाली निर्माण गर्ने अभियानको मूल लक्ष्य रहेको बताए। उनले वर्तमान पार्टी सञ्चालन शैली अब युगसापेक्ष नभएको उल्लेख गर्दै वैकल्पिक राजनीतिक मोडेल अपरिहार्य बनेको धारणा राखे।

त्यस्तै, अभियानमा समाहित नेता सुदर्शन पौडेलले जेनजी आन्दोलनपछि पनि दलहरूमा सुधारको संकेत नदेखिएकाले आफूहरू एकता प्रक्रियाबाट अलग भएको बताए। उनका अनुसार राजनीतिक परिवर्तन भएपनि जनताको समस्या समाधान हुन नसकिरहेको, त्यसकै परिणामस्वरूप जेनजी विद्रोह जन्मिएको र अब सबै दलहरूले त्यसको भावनालाई आत्मसात् गर्नुपर्ने आवश्यकतामा जोड दिए।

कार्यक्रममा अन्य नेता तथा कार्यकर्ताहरूले देशलाई जनताको चाहनाअनुरूप अघि बढाउन ‘प्रगतिशील राष्ट्रिय अभियान’मा साथ दिन सबैलाई आह्वान गरेका थिए।–00–

Share:

सम्बन्धित समाचारहरु