नयाँ वर्ष २०७९ को शुभ अवसरमा नेपालमा र संसारभर छरिनुभएका सम्पूर्णमा शुभकामना

बैशाख १ काठमाण्डौ । आज विक्रम संवत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा माधव भट्टराईले बताए।

सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको तर्क विज्ञहरुको छ। सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ। कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको मानिन्छ। आज वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । यस्तै, आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलन समेत रहेको छ । विश्वर छरिएर रहेका नेपालीले पनि आज एकाआपसमा शुभकामना आदानप्रदान गरी नेपाली नयाँ वर्ष मनाउँदैछन्। नयाँ वर्षको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ।

आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज धेरैले गएको वर्ष गरेका कामको सफलतारअसफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवम् सङ्कल्प गर्ने गर्दछन्। आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, तथा आफन्त, परिवार र साथीभाइसँग भेटघाट गर्दै मिस्ठान्न भोजन बनाएर खाने चलन छ ।

नयाँ वर्ष आफैं ढोल बजाएर आउँदैन । यो अनुभूति हो र समयको एउटा मापन हो । समयको भौतिक मापन कतै देखिनुपर्ने हो तर यो क्यालेन्डरमा नापिन्छ । आजदेखि सर्वसाधारणको घरमा नयाँ पात्रो फेरिएको छ । नयाँ पात्रोले घरमा नयाँ वर्षको सङ्केत दिन्छ । नयाँ पात्रोमा पहिलो दिन आजै हो । यसकारण पनि नयाँ वर्ष मानिएको हो ।

नेपाली नयाँ वर्ष २०७९ को शुभ अवसरमा नमस्ते टेलिभिजनको को तर्फबाट नेपालमा र संसारभर छरिनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु