माडीका विद्यालय क्यान्टिन, तरकारी बजार र होटलहरूमा अस्वस्थकर खाद्य परिकार : ल्याब परीक्षणसहितको अनुगमनले खुलायो त्रुटि

– रेशम सापकोटा । सेतोनेपाल
माडी, चितवन – ११ असार । माडी नगरपालिकाभित्र सञ्चालनमा रहेका विद्यालय क्यान्टिनहरू, तरकारी तथा फलफूल पसलहरू र स्थानीय होटलहरूमा गुणस्तरहीन र अस्वस्थकर खाद्य वस्तुहरू प्रयोग हुँदै आएको तथ्य ल्याब परीक्षणसहितको खाद्य अनुगमनबाट खुल्न आएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौँका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीको नेतृत्वमा माडी नगरपालिका र विभागको संयुक्त समन्वयमा दुई दिनसम्म सञ्चालित विशेष अनुगमनको क्रममा यस्तो तथ्य बाहिर आएको हो।

डा. सुवेदीका अनुसार अधिकांश विद्यालय क्यान्टिनहरूमा न त सरसफाइको अवस्था सन्तोषजनक भेटियो, न त खाना पकाउने तरिका नै स्वास्थ्यका दृष्टिले सुरक्षित पाइयो। क्यान्टिनहरूमा प्रयोग गरिएका भाँडाकुँडा जीर्ण छन्, पकाउने तरिका अस्वस्थकर छ र खाद्य सामग्रीको गुणस्तर कमजोर छ,उनले भने, बच्चाहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खतरा देखिएको छ।

अनुगमन टोलीले विभिन्न क्यान्टिनहरूबाट खाद्य सामग्रीहरूको नमुना संकलन गरी ल्याब परीक्षणसमेत गराएको थियो। प्रारम्भिक नतिजाअनुसार तुरुन्त सुधारका लागि विद्यालय प्रशासनलाई चेतावनी दिँदै सुधारात्मक निर्देशन दिइएको डा. सुवेदीले जानकारी दिए।

त्यस्तै, माडीका तरकारी र फलफूल पसलमा गरिएको अनुगमनले पनि झनै चिन्ताजनक अवस्था उजागर गरेको छ। विषादीको मात्रा अत्यधिक भेटिएको र केही फलफूल र तरकारी सेवनयोग्य नभएको निष्कर्ष ल्याब परीक्षणबाट आएको छ। यस्ता वस्तुहरू कम्तीमा तीनपटक बग्ने धाराको पानीमा राम्ररी धोएर मात्र सेवन गर्नुपर्छ,डा. सुवेदीले बताए, नत्र दीर्घकालीन रूपमा मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।

अनुगमनको क्रममा माडी बजारका होटल र मिठाइ पसलहरूमा पनि व्यापक लापरवाही भेटिएको छ। विशेषगरी मिष्ठान्न परिकार बनाउँदा प्रयोग गरिने तेल पटक–पटक पुनः प्रयोग गरिएको पाइयो, जसले तेल विषाक्त बन्ने जोखिम उच्च देखिएको अनुगमन टोलीको भनाइ छ। यस्ता तेलमा क्यान्सरजन्य तत्व उत्पादन हुने सम्भावना विज्ञहरूले औंल्याउँदै आएका छन्।

यसरी माडी क्षेत्रमा पहिलोपटक ल्याब परीक्षणसहितको खाद्य अनुगमन गरिएको हो। नगरका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार, स्थानीय सरकारले स्वास्थ्यप्रति संवेदनशील हुँदै खाद्य सुरक्षालाई प्राथमिकता दिन थालेको हो। हामी ल्याब गाडीसहितको टोलीमार्फत यस्ता अनुगमन अघि बढाइरहेका छौं, उनले बताए, भविष्यमा अझ कडाइका साथ निरन्तर निगरानी गरिनेछ।

यस अभियानले उपभोक्तामा सचेतना बढाउनुका साथै खाद्य व्यवसायीहरूलाई पनि जिम्मेवार बन्न प्रेरणा दिने अपेक्षा गरिएको छ। विद्यालयका विद्यार्थीदेखि आम उपभोक्तासम्म सुरक्षित खाद्य पहुँच सुनिश्चित गर्नु माडी नगरपालिकाको लक्ष्य रहेको प्रशासनले स्पष्ट पारेको छ।

© सेतोनेपाल २०८२ | समाचार सम्पर्क: setonepalnews@gmail.com

Share:

सम्बन्धित समाचारहरु