चितवन, साउन १ – चितवन राष्ट्रिय निकुञ्जमा मानव–हात्ती द्वन्द्वको प्रमुख कारण बनेको ‘धुर्वे’ हात्तीको गतिविधिमाथि निगरानी बढाइएको छ। हालसम्म २५ जनाको ज्यान लिइसकेको उक्त हात्तीमा रेडियो कलर जडान गरी प्रत्येक १० मिनेटमा उसको अवस्थाबारे जानकारी संकलन गर्न थालिएको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार बिहीबार राति निकुञ्जको सुखीभार क्षेत्रमा डार्ट प्रयोग गरी हात्तीलाई नियन्त्रणमा लिएर रेडियो कलर जडान गरिएको हो। साथै, आक्रामक व्यवहार कम गर्न हर्मोन नियन्त्रण गर्ने औषधिसमेत प्रयोग गरिएको छ।
रेडियो कलरबाट प्राप्त पछिल्लो सूचनाअनुसार शुक्रबार बिहान धुर्वे हात्ती कसराको दक्षिणतर्फ रहेको तमोर ताल आसपास क्षेत्रमा देखिएको छ। रेडियो कलरले प्रत्येक १० मिनेटमा हात्तीको अवस्थिति सम्बन्धी सूचना पठाइरहेको निकुञ्जले जनाएको छ।
निकुञ्जले हात्तीका दुवै दाह्रा करिब ६ इन्च काटेको छ। सूचना अधिकारी थापा मगरका अनुसार धुर्वे हात्तीको दाह्रा काट्ने र रेडियो कलर जडान गर्ने काम चौथो पटक गरिएको हो।
धुर्वे हात्ती बस्ती नजिक पुगेको जानकारी प्राप्त हुनासाथ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय तथा स्थानीय टोल विकास संस्थाहरूलाई तत्काल सूचना प्रवाह गर्ने व्यवस्था गरिएको छ। साथै निकुञ्ज सुरक्षा टोलीलाई घटनास्थलमा परिचालन गरी हात्तीलाई पुनः वन क्षेत्रतर्फ फर्काउने तयारी गरिएको छ।
गत असार २० गते राति धुर्वे हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको थियो। निकुञ्जका अनुसार हालसम्म यस हात्तीको आक्रमणबाट २५ जनाले ज्यान गुमाइसकेका छन्।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन उच्च सतर्कता अपनाइएको बताए।
धुर्वे हात्ती लामो समयदेखि मानव बस्तीमा प्रवेश गरी आक्रमण गर्ने हात्तीका रूपमा परिचित छ। विसं २०७४ मा यसले नेपाली सेनाका एक मेजरको ज्यान लिएको थियो। लगातार मानव आक्रमणका घटना बढेपछि विसं २०६९ पुस १ गते चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले धुर्वेलाई मार्ने निर्णयसमेत गरेको थियो।
यसअघि २०६९ सालको कात्तिकदेखि एक महिनाको अवधिमा मात्रै माडी क्षेत्रमा चार जनाको ज्यान लिएपछि उक्त निर्णय गरिएको थियो। यद्यपि, त्यसयता पनि धुर्वे हात्ती विभिन्न प्रयासका बाबजुद जीवित रहँदै आएको छ।
निकुञ्जका अनुसार धुर्वेले विसं २०६६ माघदेखि मानवमाथि आक्रमण गर्न थालेको थियो। २०६९ सालसम्म मात्रै १५ जनाको ज्यान लिइसकेको यो हात्ती हाल पनि निकुञ्ज प्रशासनका लागि चुनौतीपूर्ण वन्यजन्तुका रूपमा रहेको छ।
चितवन राष्ट्रिय निकुञ्जभित्र हाल रोनाल्डो, गोविन्दे र धुर्वेलगायत मत्ता हात्तीहरू रहेको बताइएको छ। प्रमुख संरक्षण अधिकृत पुनका अनुसार निकुञ्ज क्षेत्रमा ४५ देखि ५० वटा जंगली हात्ती रहेका छन्।–00–


