अत्यधिक गर्मीका कारण राष्ट्रि स्वतन्त्र पार्टीको महाधिवेशन स्थल परिवर्तन गरियो

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशनको स्थल परिवर्तन गरेको छ। यसअघि चितवनको टाँडीस्थित स्टार बेंक्वेट होटल तथा सोही परिसरमा टेन्टमार्फत खुला र बन्द सत्र सञ्चालन गर्ने तयारी गरिएको भए पनि अत्यधिक गर्मीका कारण स्थान परिवर्तन गरिएको हो।

पार्टीका प्रवक्ता मनिष झाले महाधिवेशन अब भरतपुरमा आयोजना हुने निश्चित भएको जानकारी दिएका छन्। यस्तै, महामन्त्री कबिन्द्र बुर्लाकोटीले पनि महाधिवेशन भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा गर्ने निर्णय गरिएको पुष्टि गरेका छन्।

उनका अनुसार टाँडी क्षेत्रमा गर्मीका कारण सहभागीलाई असहज हुने भन्दै जिल्ला तहका पदाधिकारीहरूले सभापति रवि लामिछानेलाई वैकल्पिक स्थान छनोट गर्न सुझाव दिएका थिए। सोही सुझावका आधारमा वातावरणीय अनुकूलता र व्यवस्थापनको सहजतालाई ध्यानमा राख्दै चितवन प्रदर्शनी केन्द्रलाई महाधिवेशन स्थल तय गरिएको हो।

चितवन प्रदर्शनी केन्द्रमा तीनवटा सुविधा सम्पन्न हल रहेका छन्। बन्द सत्रका लागि करिब ३,५०० जना अट्ने मुख्य हल प्रयोग गरिनेछ भने अर्को हलमा भोजन व्यवस्थापन र तेस्रो हल प्रतिनिधिहरूको विश्रामका लागि उपयोग गरिने योजना छ। साथै, अत्यधिक गर्मीलाई मध्यनजर गर्दै केन्द्रमा एसी तथा एयर कन्डिसनिङको व्यवस्था रहेको र सवारी व्यवस्थापन तथा सुरक्षा दृष्टिकोणले समेत यो स्थान उपयुक्त रहेको पार्टीले जनाएको छ। —00—-

Share:

सम्बन्धित समाचारहरु